कैलालीमा लक्ष्यभन्दा कम राजस्व संकलन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कैलालीमा लक्ष्यभन्दा कम राजस्व संकलन


३ श्रावण २०८०, बुधबार


टिकापुर । कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन । दुई भन्सार कार्यालय रहेको कैलालीमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ ।

कैलाली भन्सार कार्यालयलाई गत आव २०७९/८० मा भन्सार विभागले रु १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियो । तर उक्त आवमा रु आठ अर्ब २९ करोड ६३ लाख मात्र राजस्व उठेको छ । यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काले बताउनुभयो । बैंक तथा वित्तीय संस्थामा देखिएको समस्याका कारण व्यापारिक वातावरण नहुँदा राजस्व कम सङ्कलन भएको उनले बताए ।

टीकापुर नगरपालिकाको सीमामा रहेको सत्ती भन्सार कार्यालय खक्रौलाबाट पनि लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन । भन्सार विभागले सत्ती भन्सारलाई आव २०७९/८० मा रु १६ करोड ९४ लाख, ४२ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियो । सो अवधिमा सत्ती भन्सारले रु सात करोड, ३८ लाख, ८९ हजार मात्र राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ४४ प्रतिशत मात्र भएको सत्ती भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख तुलसीराम चौधरीले बताए ।

‘आर्थिकमन्दी, भन्सार कार्यालयमा क्वारेन्टाइन र प्लान्ट कार्यालय नहुँदा राजस्व सङ्कलन कम भएको हो’, उनले भन्छन् । कैलालीका भन्सार कार्यालयबाट आयातबाट मात्र राजस्व उठ्ने गर्छ । यी भन्सार भएर पेट्रोलियम पदार्थ, कपडा, मोटर पार्टस, हार्डवेयरका सामान, चामल, गहुँ, पापड, भुजिया, दालमोठ, बिस्कुटलगायत बस्तुको आयात अत्यधिक हुने गरेको छ । तर निर्यात भने न्यून मात्रामा हुने गरेको चौधरीले बताए ।

स्थानीयवासीले सत्तीमा क्वारेन्टाइन कार्यालय स्थापनाको माग गर्दै आएका छन् । सत्ती भन्सारमा रहेको क्वारेन्टाइन कार्यालय सशस्त्र द्वन्द्वका बेला विस्थापित भएको थियो । ‘विस्थापित भएका धेरै कार्यालय खुले । तर क्वारेन्टाइन पुनःस्थापना हुन सकेन’, स्थानीय सङ्गम चौधरी भन्छन्, ‘क्वारेन्टाइन नभएका कारण पनि भन्सारले गति लिन सकेन, यहाँका व्यापारीलाई समेत दुःख भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस