काठमाडौँ । उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनका लागि महिला एक्लैले नसक्ने बताएकी छिन्।
बुधबार काठमाडौँमा चलचित्र बगानको प्रिमियर शोपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्। उनले पुरुषहरूले श्रीमान् बितेका महिलाहरू, सम्बन्ध विच्छेद भएका महिलाहरूलाई अरु महिलाहरू जत्तिकै सम्मानित हुन्छन् भन्न नसोचेसम्म समाज परिवर्तन गर्न नसकिने बताइन्।
उनले भनिन्, ‘पछाडि बसेर फिल्म हेर्ने भाइहरू हाँसिरहनुभएको थियो। मैले जिस्केर के भने भने यो भाइहरूले धेरै सिंगल मदरहरुको विवाह गर्नुहुन्छ भने। यहाँबाट मलाई पुग्छ जस्तो लाग्छ। जबसम्म पुरुषले सुरुवात गर्दैन, जबसम्म छोराहरुले सुरुवात गर्दैन, यो समाज परिवर्तन महिलाले मात्रै गर्न सक्दैनन्। महिलाले मात्रै समाजलाई परिवर्तन गर्न सक्छौँ, भन्ने कुरा सम्भव छैन। पुरुषहरूले श्रीमान् बितेका महिलाहरू, सम्बन्ध विच्छेद्य भएका महिलाहरू, त्यस्ता महिला पनि अरु महिलाहरू जत्तिकै सम्मानित हुन्छ भन्ने कुरा जबसम्म पुरुषले सोच्दैन, तबसम्म समाज परिवर्तन हुँदैन।’