काठमाडौँ । जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ ।
टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा स्वागत गरेका छन् ।
विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्न नसकेको नेपाल १० टिम सहभागी प्रतियोगितामा आठौँ हुँदै घर फर्केको हो ।
स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारसित कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे अनुसारको नतिजा नआए पनि धेरै कुरा सिकेको बताए ।
एशोसिएटकै बलिया टिम र टेष्ट टिमसँग खेल्दाको अनुभव अबका प्रतियोगितामा उपयोग गर्ने उनले बताए । फुल मेम्बर टिमसँग खेल्न पायौँ भने हामीले पनि उनीहरूलाई हराउन सक्छौँ भन्ने आत्मविश्वास बढेको पौडेलले बताए ।
