काठमाडौँ। कोशी प्रदेशमा कांग्रेस-माओवादी केन्द्र गठबन्धनले सभामुखलाई समेत जोडेर सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समयसीमा भोलि बिहीबार अपराह्न ५ बजे सकिँदैछ ।
काँग्रेस-माओवादी गठबन्धनमा आबद्ध दलहरुबीच कोशी सरकारको नेतृत्व काँग्रेसले गर्ने सहमति पनि भइसकेको छ । त्यसअनुसार काँग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने छन् । तर मुख्यमन्त्रीमा दाबी पेश गर्दा उनलाई समर्थन गर्ने दलका नेताहरुले पनि हस्ताक्षर गर्नेछन् ।
गठबन्धनका नेताहरुले अहिले पनि ६ सांसद भएको राप्रपाको समर्थन जुटाउने प्रयास गरिरहेका छन् । तर सहमति जुटेको छैन । राप्रपा नेताहरुले भने गठबन्धनमा आबद्ध दलहरूसँग कुराकानी भइरहे पनि सरकार निर्माणका लागि साथ दिने कि नदिने निर्णय नभएको बताएका छन् ।
काँग्रेसले पनि राप्रपासँग छलफल भएपनि समर्थन पाउने टुङ्गो भइ नसकेको बताएको छ ।
९३ सदस्यीय प्रदेशसभा बहुमतका लागि ४७ मत चाहिन्छ । काँग्रेसका २९, माओवादीका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका ४ र जसपाका १ प्रदेशसभा सदस्य छन् । अर्थात् सभामुखलाई नजोड्ने हो भने चार दलसँग प्रदेशसभाको बहुमत पुग्दैन । एक माओवादी प्रदेशसभा सदस्यले भने सभामुखलाई पनि जोडेर सरकार गठनका लागि दाबी गर्ने र मुख्यमन्त्री नियुक्ति भएपछि राप्रपासँग सहकार्यका लागि थप ३० दिनको समय रहने बताए ।
यता नेकपा एमालेले भने सभामुखलाई सरकार गठन प्रक्रियामा सहभागी गराएर विवादित नबनाउन आग्रह गरेको छ ।