काठमाडौँ । लुम्बिनी प्रदेशमा बजेटका विषयमा असन्तुष्टि जनाउँदै लगातार सदन अवरुद्ध गर्दै सोमबार बजेट पुस्तिका च्यातेर सदन बहिस्कार गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकारबीच मङ्गलवार राती सहमति भएको छ ।
वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्ली चौधरीले सदनमा सम्बोधन गरेर बुधबारदेखि सदन सञ्चालन गर्ने सहमति भएको एमालेका एक नेताले जानकारी दिए ।
सदन बहिस्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति गरेका हुन् । वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरी बसेका थिए । सभामुख तुलाराम घर्तीले विपक्षी दलसँग सहमति भएको ती नेताले बताए ।
सरकारका प्रवक्ता मन्त्री सन्तोष पाण्डेयले विपक्षी दलसँग सहमति भएको पुष्टि गरेका छन ।
असार १ गते आएको बजेटका विषयमा छलफल गर्न १३ गतेदेखि बसेको सदन प्रमुख विपक्षी दल एमालेले लगातार अवरोध गर्दै सोमबार बहिस्कार नै गरेको थियो ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभा भोलि बुधबारका लागि बोलाइएको छ । एमालेले बहिस्कार गरेपछि पनि बैठक चलाएका सभामुख तुलाराम घर्तीले अर्को बैठक सूचनामार्फत बोलाइने भन्दै आजै पौने ७ बजे सकाएका थिए ।