‘एमालेलाई एक नम्बर पार्टी बनाउने सङ्कल्पसहित कर्णाली आएको छु’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘एमालेलाई एक नम्बर पार्टी बनाउने सङ्कल्पसहित कर्णाली आएको छु’


१८ असार २०८०, सोमबार


काठमाडौँ । एमाले सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले एमालेलाई एक नम्बर पार्टी बनाउने सङ्कल्पसहित आफू कर्णाली आएको बताएका छन् । जनवर्गीय सङ्गठनको प्रदेशस्तरीय बैठकलाई सोमबार सम्बोधन गर्दै उनले आत्मकेन्द्रीत सोच त्यागेर पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।

इन्चार्ज भट्टले जनवर्गीय सङ्गठन पार्टीको कच्चा पदार्थ भएको र परिपक्व बनाएर पार्टीमा पठाउने धारणा राखे । ‘जनवर्गीय सङ्गठनको बजार नै पार्टी हो, जनवर्गीय सङ्गठन पार्टीको कारखाना हुन्’, उनले भने, ‘सङ्गठनका सदस्यहरूले पनि आफूलाई केन्द्रमा नराखी पार्टी कसरी बनाउने भन्ने सोच्न जरुरी छ ।’

पार्टी केन्द्रले पठाएका अन्तरपार्टी निर्देशन, दस्ताबेजहरू जनवर्गीय सङ्गठनका हरेक सदस्यले पढ्न जरुरी रहेको उनको भनाई थियो ।

बैठकमा जनवर्गीय सङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले नेतृत्वको भर्त्सना गरेर मात्र नेता भइन्छ भन्ने सोच त्याग्न आग्रह गरे ।

कुण्ठा पोख्ने, अराजकता प्रदर्शन गर्ने शैलीबाट पार्टी नबन्ने भन्दै ढकालले भने, ‘जनवर्गीय सङ्गठनहरूले कार्यशालामार्फत आफ्नो सङ्गठनका मुद्दाहरूको पहिचान गरी जनतासँग जोडिनुपर्छ, पार्टी नीति र नेतृत्वको सदैव रक्षा गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस