काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल-भारत सीमासम्बन्धी समस्याले निकास पाउने बताएका छन्।
नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।
कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भारतसँग सीमा जोडिएका क्षेत्रका बारेमा पनि सरकार गम्भीर रहेको उनको भनाइ थियो।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पनि यी विषयमा कुराकानी भएको र भारत पनि सीमा समस्या समाधानमा सकारात्मक रहेको मन्त्री साउदले बताए।
‘कालापानीलगायत देशभरका अन्य सीमाका बारेमा भारतीय पक्षले दिनुपर्ने रेस्पोन्स हामीले कूटनीतिक रूपमा प्राप्त गर्नुपर्थ्यो त्यो विगतमा गर्न सकिएको थिएन,’ उनले भने, ‘भारतीय प्रधानमन्त्रीले सीमासँग सम्बन्धित समस्या वा विवादहरू वार्तामार्फत समाधान गर्नुपर्छ भनेर बोल्नु भएको छ। त्यसलै सीमासम्बन्धी समस्याले निकास पाउँछ।’
उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताए। तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको उनको भनाइ थियो।