एडीबीद्वारा नेपालका लागि करिब ६ अर्ब ६० करोड ऋण स्वीकृत « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

एडीबीद्वारा नेपालका लागि करिब ६ अर्ब ६० करोड ऋण स्वीकृत


१४ असार २०८०, बिहिबार


काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले आन्तरिक र अन्तर्राष्ट्रिय व्यापार सुधारमा नेपालका लागि ५ करोड डलर (६ अर्ब ५९ करोड रुपैयाँ) ऋण स्वीकृत गरेको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारका नीतिगत समस्या सुधारलाई कार्यान्वयन गर्न ५ करोड डलर ऋण स्वीकृत गरेको हो ।

आर्थिक वर्ष २०२२ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत रहेको एडिबीको तथ्याङ्क रहेको छ । सरकारले व्यापार र निकासी प्रवर्द्धनको वातावरणमा सुधार र प्राथमिक वस्तुको आपूर्तिलाई सुदृढ गरी कुल गार्हस्थ्य उत्पादनमा व्यापारको योगदान बढाउन जोड दिएको र भन्सार प्रणाली, सेवा तथा सीमा प्रक्रियाको सुधार आवश्यक रहेको एडीबीले जनाएको छ ।

कार्यक्रमले भन्सार महसुल तथा शुल्कको विद्युतीय भुक्तानी गर्न, निर्यात कागजात पनि विद्युतीय रूपमै पेस गर्नेगरी डिजिटल प्रविधि मार्फत भन्सार प्रक्रियामा सुधार र आधुनिकीकरण योजना कार्यान्वयन गर्न मद्दत गर्ने जनाइएको छ । 

यसले भन्सार क्लियरेन्सलाई सहज बनाउन अनलाइन भन्सार मूल्याङ्कन डाटाबेस स्थापना हुनेछ र कागजात घटाउनेछ । कार्यक्रमले भारत र बङ्गलादेश जस्ता देशका प्रमुख आर्थिक साझेदारसँग व्यापार सहज बनाउन पूर्वाधार र उपकरणहरूको प्राविधिक मापदण्ड पुरा हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस