गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुरु गर्ने तयारी  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुरु गर्ने तयारी 


१२ असार २०८०, मंगलबार


काठमाडौँ । भरतपुर महानगरपालिकाको नगर सभाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको दायित्व फरफारक गर्न सरकारबाट प्राप्त सशर्त अनुदान धुर्मुस सुन्तली फाउन्डेसनलाई अनुदानका रूपमा भुक्तानी गर्ने सर्वसम्मत निर्णय गरेको छ।

रङ्गशाला निर्माण गर्ने क्रममा धुर्मुस सुन्तली फाउन्डेसनले १८ करोड ४३ लाख रुपैयाँ उधारो तिर्न नसकेपछि काम रोकिएको थियो।

उधारो तिर्न नसकेपछि फाउन्डेसनले २०७८ साउन २२ गतेबाट काम रोकेर भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरणको पत्र पठाएको थियो।

गत चैतमा मन्त्रिपरिषद् बैठकले रङ्गशाला निर्माणको स्वामित्व नेपाल सरकारले लिने निर्णय गर्दै हिसाब फरफारक गर्न १२ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत रङ्गशालाका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ। 

मेयर रेनु दाहालले संघीय सरकारले उपलब्ध गराउने भनेको अनुदान रकम महानगरमार्फत अनुदानका रूपमा भुक्तानी गर्ने निर्णय भएको बताइन्। 

‘फाउन्डेसनलाई लागेको ऋण कुन प्रक्रियाबाट तिर्ने भन्ने कुराले अन्योल बनाएको थियो। हामीले नगर सभाबाट निर्णय गर्‍यौँ। मन्त्रिपरिषद्ले निर्णय गरेको १२ करोड रुपैयाँ अब महानगरपालिकामार्फत अनुदान भनेर भुक्तानी हुन्छ, ’उनले भनिन्, ’हामीले पनि यसपालि ३ करोड रुपैयाँ बजेट छुट्ट्याएका छौँ। प्रदेश सरकारले पनि पाँच करोड रुपैयाँ छुट्ट्याएको छ। अब ऋण तिरेर निर्माणको काम अघि बढ्छ।’

मन्त्रिपरिषद्ले सरकारले स्वामित्व लिने निर्णय गरे पनि कुन तहको सरकारले लिने भन्ने निर्णय नगरेको उनले बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस