काठमाडौँ । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले असार १९ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १०५ अर्थात् ८ करोड रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरूका लागि जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्नेछ।
उक्त आइपीओमा दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। यस्तै, बिगु गाउँपालिका वडा नं. ४ र कालिन्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
स्थानीय बासिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले यसमा साउन २ गतेसम्म आवेदन दिन सकिनेछ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने वैशाख २५ गतेभित्र आवेदन दिन पाउनेछन् ।
रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ।
स्थानीय बासिन्दाले मनकामना इन्जिनियरिङ्गको रजिष्ट्रर्ड कार्यालय अनामनगर, प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, गौरीशङ्कर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।