धार्मिक पर्यटकीय स्थलको विकासका लागि गुरुयोजना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धार्मिक पर्यटकीय स्थलको विकासका लागि गुरुयोजना


९ असार २०८०, शनिबार


काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले धार्मिक पर्यटकीय स्थलको विकासका लागि गुरुयोजना तयार गर्ने भएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रममा पालिकाभित्रका धार्मिक पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थलको विकासका लागि गुरुयोजना तयार गरिने उल्लेख छ ।

गाउँपालिकाले भूमे स्थान पार्क, तारे पहरो, घण्टी पोखरी, शिवालय, पञ्चासे, शीतल गुफा, मणिको डिल सिद्ध थान, थाप्ले भुमेको थान, पौँदुरकोट भूमे थान, कान्छी बराह, क्युप्चे बराह, जल बराह, मेश्रम बराह, एक सय आठ धारा पोंचेनिम बराह आदिको गुरुयोजना तयार गर्ने भएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन तथा उनीहरूको बसाइ अवधि लम्ब्याउन प्रचारप्रसार एवं प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । कृषि तथा पर्यटनमा जोड दिँदै गाउँपालिकाले परम्परागत मह सिकारलाई पर्यटनसँग जोड्ने नीति अवलम्बन गर्ने भएको छ ।

गाउँपालिकाको पर्यटन प्रवर्द्धनका लागि भिजिट अन्नपूर्ण कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । एग्रो टुरिजमको विकास गरी अन्नपूर्ण क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नै उत्पादन खुवाउने परिपाटीको विकास र विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । तेलहन र गहुँ खेतीसँगै चिया, कफी, अलैँची र जडीबुटी खेतीलाई प्रोत्साहन गरिने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस