काठमाडौँ । आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।
टाकासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेदरल्यान्ड्सले पहिले बलिङ रोजेको हो । नेदरल्यान्ड्सले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।
नेपालले गत बिहीवार वेस्ट इन्डिजविरुद्ध खेलेको टोलीमा कुनै परिवर्तन गरेको छैन ।
आजको खेलमा नेपाल पराजित भएमा समूह चरणबाटै बाहिरिने छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो ।
नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराएमा नेदरल्यान्ड्स औपचारिक रूपमा सुपर सिक्समा पुग्नेछ ।
दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो। पछिल्लो समय नेदरल्यान्ड्सले टेस्ट टोली सहभागी सुपर लिग खेलेको थियो ।
हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडिआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो ।