विकृति रहेको भन्दै परेको उजुरीमा सत्यता छैन : केन्द्रीय कारागार  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

विकृति रहेको भन्दै परेको उजुरीमा सत्यता छैन : केन्द्रीय कारागार 


७ असार २०८०, बिहिबार


काठमाडौँ । केन्द्रीय कारागार काठमाडौँले बन्दी गृहभित्र विकृति रहेको भन्दै परेको उजुरीमा सत्यता नभएको जवाफ कारागार व्यवस्थापन विभागलाई पठाएको छ ।

कारागारभित्र मिटरब्याज र असुली धन्दा चलाएको भन्दै गृह मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी परेको थियो । उजुरीमाथि आवश्यक कारबाही गर्न भन्दै मन्त्रालयले कारागार व्यवस्थापन विभागलाई पत्र लेखेको थियो ।

‘त्यसपछि उजुरीमा उल्लेख भएका विषयहरूमा छानबिन गर्दा उजुरीमा लेखिए अनुसारको स्थिति देखिएन’, जेलर ललितकुमार बस्नेतले विभागलाई लेखेको पत्रमा भनिएको छ, ‘कारागारभित्र लागूऔषध र मदिराको बेचबिखन भएको भन्ने विषयमा छड्के अनुगमन र निरीक्षण भइरहन्छ, उजुरी परेपछि पनि थप निगरानी गरेर आकस्मिक जाँच गर्दा पनि त्यस्तो देखिएन ।’

पत्रमा कारागार व्यवस्थापन कार्यविधि, २०७३ अनुसार आन्तरिक प्रशासनका कर्मचारी नियुक्ति गर्दा उनीहरूको चालचलन र गतिविधिमाथि बुझेर मात्र नियुक्त गर्ने गरिएको भनिएको छ ।

‘आन्तरिक प्रशासनका स्टाफबाट सानोभन्दा सानो त्रुटि प्रमाणित भए तत्काल कारबाही गर्ने गरिएको छ’, पत्रमा भनिएको छ, ‘चौकीदार तथा अन्य आउटर स्टाफहरू कारागार कार्यालयसम्म सुरक्षाकर्मीका साथमा मात्र ल्याउने र लैजाने व्यवस्था रहेका कारण पनि लागूऔषध र मदिरा जस्ता कारागारभित्र प्रवेश निषेध गरिएका वस्तुहरू प्रवेश गराएको भन्ने विषयमा सत्यता छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस