वेस्ट इन्डिजसँग नेपालको फराकिलो हार  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

वेस्ट इन्डिजसँग नेपालको फराकिलो हार 


७ असार २०८०, बिहिबार


काठमाडौँ । ब्याटिङ नचल्दा आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपाल दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । 

बिहीबार जिम्बाब्वेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा टस हारेपछि ब्याटिङमा आएको वेस्ट इन्डिजका लागि होप र पुरनले शतक बनाएपछि निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३९ रनको योगफल खडा गरेको थियो । वेस्ट इन्डिजले प्रस्तुत गरेको ३४० रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाएर २३८ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि आरिफ शेखले ६३ रन जोडे । आरिफले ९३ बलमा चार चौका र एक छक्का प्रहार गरे । गुल्सन झाले ४२ रन थपे । यी दुईले सातौँ विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।

कप्तान रोहितकुमार पौडेलले ३०, ओपनर आसिफ शेखले २८ र दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे । करण केसीले २८ रन थपे ।

नेपाललाई सस्तैमा समेट्न वेस्ट इन्डिजका जासन होल्डरले तीन विकेट लिए । अल्जारी जोसेफ, किमो पाउल र अकेइल हुसैनले समान दुई विकेट लिए । काइल मायर्सले एक विकेट हात पारे ।

वेस्ट इन्डिजका लागि कप्तान होपले १३२ रन बनाएका थिए । उनले १२९ बलमा १० चौका र तीन छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा होपको यो १५औं शतक हो । ९-२ को नाजुक अवस्थामा ब्याटिङका लागि आएका होपले तेस्रो विकेटका लागि ब्रान्डन किंगसँग ४६ रन र चौथो विकेटका लागि निकोलस पुरनसँग २१६ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई बलियो अवस्थामा ल्याएका थिए । होपसँग दोहोरो शतकीय साझेदारी गरेका पुरनले पनि शतक बनाए । पुरनले ९४ बलमा १० चौका र चार छक्कासहित ११५ रन बनाए । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पुरनको यो दोस्रो शतक हो । पुरनले पछिल्लो पटक सन् २०१९ को एकदिवसीय विश्वकपमा श्रीलंकाविरुद्ध शतक बनाएका थिए । त्यसयता ११ अर्धशतक बनाए पनि पुरनले त्यसलाई शतकमा परिणत गर्न सकेका थिएनन् ।

पुरन तीन रनमा खेलिरहँदा नेपालका विकेटकिपर आसिफ शेखले क्याच छुटाएका थिए । ललितले गरेको १८औं ओभरको अन्तिम बलमा एज लाग्दा विकेटकिपर आसिफ क्याच मिस गरेका थिए । पुरन ५४ रनमा हुँदा पनि आसिफले पुनः क्याच छुटाएपछि उनले दोस्रो पटक जिवनदान पाएका थिए ।

ब्रान्डन किंगले ३२ रन जोड्दा रोभमन पावेलले २९ र जासन होल्डरले अविजित १६ रन जोडे । 

नेपालका ललितनारायण राजवंशीले तीन विकेट लिए । १० ओभर बलिङ गरेका ललितले १० ओभरमा ५२ रन खर्चिए । सन्दीप लामिछाने, करण केसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरी एक(एक विकेट लिए ।

वेस्ट इन्डिजसँगको हारले नेपालमाथि छनोटको सुपर सिक्समा प्रवेश गर्न अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराउनै पर्ने दबाब थपिएको छ । नेपाललाई हराएको वेस्ट इन्डिज दुई खेलबाट चार अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलबाट दुई अंक जोडेको नेपाल चौथो स्थानमा छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेलेको पनि यो पहिलोपटक हो ।

छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।

जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्ने छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस