विभेदजन्य अभिव्यक्ति दिने उपमेयर चन्दलाई कारबाही गर्न दलित आयोगको माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विभेदजन्य अभिव्यक्ति दिने उपमेयर चन्दलाई कारबाही गर्न दलित आयोगको माग


३ असार २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय दलित आयोगले दलित समुदायमाथि विभेदजन्य अभिव्यक्ति दिने बैतडीको दशरथचन्द नगरपालिकाकी उपमेयरलाई कारबाही गर्न माग गरेको छ । 

आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटीले आइतबार विज्ञप्ति जारी गर्दै उपमेयरले गरेको विभेदजन्य व्यवहारले आयोग र सिङ्गो दलित समुदायलाई दुःखी बनाएको भन्दै सो अभिव्यक्तिबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

दशरथचन्द नगरपालिकाकी उपमेयर कौशिला चन्दले २१ जेठमा जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा भएको दिन आयोजित कार्यक्रममा विभेदजन्य अभिव्यक्ति दिएकी थिइन् ।

‘सार्वजनिक कार्यक्रमस्थलमै म ठकुरीको छोरी हुँ, दलितको हातको पानी खाँदिनँ, यो मेरो आफ्नो इच्छाको कुरा हो भनेर सिङ्गो दलित समुदायको अपमानित हुने गरी जातीय भेदभावजन्य व्यवहार गरेको कुराप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगका प्रवक्ता पुर्कुटीले विज्ञप्तिमार्फत भनेका छन्, ‘विज्ञान र प्रविधिले मानव सभ्यता उच्च विन्दुमा पुगेको सन्दर्भमा जनताबाटै अनुमोदित जनप्रतिनिधिबाटै पटक–पटक यस्तो भेदभावजन्य घृणित कार्य हुनु संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै ठाडो उपहास गरेको छ । न्यायिक समितिको संयोजक र जनप्रतिनिधिहरूबाट नै दलित माथि विभेद हुन्छ भने आम दलित समुदायले न्याय माग्न कहाँ जाने रु भनेर गम्भीर प्रश्न उब्जाइरहेको छ ।’

संविधानको प्रस्तावनामा नै सबै प्रकारका जातीय तथा लैङ्गिक भेदभावको अन्त्य गर्ने सङ्कल्प गरेको उल्लेख गर्दै आयोगले सरकारले पटक-पटक सबै प्रकारका हिंसा, शोषण, विभेद र दुर्व्यवहारको अन्त्य गर्ने उल्लेख गरेको समेत स्मरण गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस