मनसुन : यी प्रदेशमा भइरहेको छ वर्षा « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

मनसुन : यी प्रदेशमा भइरहेको छ वर्षा


२ असार २०८०, शनिबार


काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

यसका कारण हाल गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखा मौसमविद् रोजल लामिछानेका अनुसार पछिल्लो तीन घण्टामा गण्डकी प्रदेशका थोरै स्थान, बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा रातिको समयमा वर्षाको सम्भावना रहेको छ ।

यस्तै कोशी प्रदेश, मधेस प्रदेश र देशका पहाडी भू-भागमा बदली रहनुका साथै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

मौसमविद् लामिछानेले मनसुन प्रणाली क्रमिक रूपमा देशभर फैलिने क्रममा रहेको र यो देशभर विस्तार हुन अझै एक साता लाग्ने बताए ।

गत जेठ ३१ गते बुधबार नेपालको पूर्वी भेग भएर मनसुन प्रणाली भित्रिएको थियो । मनसुन सुस्त गतिमा रहेकाले देशको पश्चिम क्षेत्रमा फैलिन केही दिन लाग्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस