काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले काँग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रैमा सीमित बन्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले काँग्रेस व्यवहारवादी बन्दा चुक्दै गएको बताए ।
काँग्रेसले सिद्धान्तहरूलाई छोड्दै जानु चिन्ताको विषय भएको उनले बताए ।
नेता कोइरालाले काँग्रेस विगतको गौरवमय चरित्रमा अल्मलिन थालेको महसुस आफूले गरेको पनि बताए । उनले अहिले कुनै पनि संवैधानिक संस्थाहरूमा सबल बन्न नसकेको जिकिर गर्दै संसदको समेत अवस्था चिन्ताजनक रहेको उल्लेख गरे।
उनले संसदमा प्रधानमन्त्री बोलेपछि संसद रोकिनु, प्रधानमन्त्री बोले लगत्तै प्रमुख प्रतिपक्षी दलको नेता बोल्नु संसदीय मर्यादा विपरीत भएको बताए ।
उनले सरकारले संवैधानिक निकायहरू निर्वाचन आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग लगायतका निकायहरूको अधिकार कटौती गर्दासमेत सांसदहरु मौन बसेको बताए ।
नेता कोइरालाले देश भूराजनीतिक भुमरीमा फस्दै गएको बताए। उनले अघि भने, ‘देश भू-राजनीतिक (जीओपोलटिक्स)को भुमरीमा फस्दैछ। मुलुक राजनीतिक पार्टीहरूका नेतृत्वको कारणबाट नै भू-राजनीतिक (जीओपोलटिक्स)को भुमरीमा फस्दैछ।’
नेता कोइरालाले लोकप्रियताको नाममा लोकरिजाँईको राजनीति हाबी हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । ‘नेताहरू लोकरिजाँई र लोकप्रियताको नाममा बोलेर सामाजिक सञ्जालमा हालेका छन्। अनि त्यसैलाई विश्वविद्यालयका प्रध्यापकहरुले नै उनै नेता हो भनेर हिँडेका छन्’, उनले भने, ‘प्राध्यापकहरू पनि यो विषयमा दोषी हुनुहुन्छ, तपाईँहरूको पनि जिम्मेवारी हो ।’