मङ्गलबारे । यु-२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौँडा रगर्सले जितेका छन् ।
इलामको माई नगरपालिका-४ शुक्रबारे खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटौँडा विजयी भएको हो ।
कर्णालीले कटारी रग्बी क्लबलाई १५-५ अङ्कले तथा हेटौँडाले हिमालयन टाइगर रग्बी क्लबलाई १४-५ अङ्कले पराजित गर्दै उपाधि जितेको हो । विजेता दुवै टोलीले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता दुवै टोलीले ३० हजार, मेडल र प्रमाण पत्र पाए ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई माई नगरपालिकाका नगरप्रमुख खम्बसिंह लिम्बू, नेपाल रग्बी सङ्घका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, उपाध्यक्ष किरण गिरी, केन्द्रीय सदस्य सन्तकुमार मेहतालगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ कर्णालीका रोहन डङ्गोल र महिलातर्फ हेटौँडाकी पुष्पा खड्का घोषित भए । दुवै जनाले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे । यस्तै उदीयमान खेलाडी कटारीका नवीन दर्लामी र विडिसा राई घोषित भए ।
नेपाल रग्बी सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका लागि प्रदेश रग्बी सङ्घ, जिल्ला रग्बी सङ्घ इलाम र माई नगरपालिकाले सहजीकरण गरेको थियो ।
प्रतियोगितामा पुरुष र महिलातर्फ कोशी प्रदेशबाट कटारी रग्बी क्लब, मधेस प्रदेशबाट बर्दिबास रग्बी क्लब, बागमती प्रदेशबाट हेटौँडा रगर्स, कर्णाली प्रदेशबाट कर्णाली रग्बी क्लब र राष्ट्रिय क्लब हिमालयन टाइगर रग्बी सहभागी भएका थिए ।
आगामी अगष्तमा नेपालमा हुने यु-२० एसिया रग्बी सेभेन्सका लागि नेपाली टोली छनोट गर्न प्रतियोगिता आयोजना गरिएको नेपाल रग्बी सङ्घका वरिष्ठ उपाध्यक्ष गिरीले जानकारी दिए ।