काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा १२० जनाको जम्बो टोली लगेको विषय निकै आलोचित बनेपछि प्रस्टीकरण दिएका छन् । आज राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीले यस विषयमा प्रष्टीकरण दिएका छन् ।
सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा दाहालले भारत भ्रमण टोली जम्बो भएको स्वीकार गरे । तर, यो परम्परा नै बसेकाले आफू दोषी नभएको उनको भनाइ थियो ।
‘सबै प्रधानमन्त्रीले नेपालबाट भारत जाँदा जम्बो लैजाने गरिएको छ । परम्परा नै जम्बो छ । मैले त घटाउन खोज्या हो,’ दाहालले भने ।
आधिकारिक र सरकारी खर्चमा गएको टोली ४० वरिपरिको मात्रै रहेको उनको दाबी थियो । ४८ जना निजी क्षेत्रका व्यवसायीहरू आफ्नै खर्चले गएको उनले बताए ।
‘निजी क्षेत्रका व्यवसायी र सञ्चारकर्मी धेरै भएकाले ठूलो देखिया मात्रै हो । ठूलो हो भने पनि हाम्रो परम्परा नै हो । म त घटाउनेमै छु’, दाहालले भने ।
भ्रमण टोलीका सदस्यहरू संवेदनशील स्थानमा सेल्फी खिचेर बसेको विषयमा सांसदहरुले प्रश्न गरेका थिए । सरकारसँग अफिसियल क्यामराम्यान नभएको हो कि भन्ने उनीहरूको जिज्ञासा थियो ।
प्रधानमन्त्रीले भ्रमण टोलीमा टन्नै क्यामराम्यान भएको बताए ।
‘प्रधानमन्त्रीका क्यामराम्यान पनि थिए, सरकारका पनि थिए । सेल्फी कसले खिच्यो मैले थाहा पाइनँ’, उनले भने ।
भारतमा नेपालको भ्रमण टोलीलाई भव्य स्वागत गरिएको प्रधानमन्त्री दाहालको दाबी छ । आफूले कतै पनि अपमानित महसुस नगरेको उनले बताए ।
‘म विल्कुल अपमानित भएको छैन । सम्मानित भएको महसुस छ । जाबो राज्यमन्त्रीले स्वागत गरेको भनेका छन् । तर, जुन प्रधानमन्त्रीलाई पनि राज्यमन्त्रीले नै हो स्वागत गर्ने । म दोस्रोपटक राजकीय भ्रमणमा जाँदा विदेश मन्त्री सुश्मा स्वराज नै आउनुभएको थियो । यसपाली औपचारिक भ्रमण मात्रै भएकाले राज्यमन्त्री आउनुभयो,’ उनले भने । अरु कुरामा राजकीय सम्मानभन्दा कम महसुस नभएको दाहालले बताए ।
मध्यप्रदेश जाँदाको पाएको स्वागतको प्रधानमन्त्रीले खुबै वर्णन गरे ।
‘मध्यप्रदेश जाँदा झकिझकाउको कुरा गर्ने हो भने‘ इन्द्रबाट झर्नेवित्तिकै थरिथरिका नाचगाना, झण्डा, बाजागाजा‘ उज्जैनसम्म चोक चोकमा डान्स र नाराबाजी । म सम्मानित भएर आएको ठान्या छु, तपाईँहरूले अपमान देख्ने ?’