काठमाडौँ । नीति कार्यक्रमको पहिलो बुँदामा जनयुद्ध शब्द राखिएकाप्रति (एमाले) जनाएको आपत्तिमा माओवादी केन्द्रका नेताले जवाफ फर्काएका छन् ।
सोमबार नीति कार्यक्रममाथि बोल्दै नेकपा (एमाले)का सांसद योगेश भट्टराईले जनयुद्ध शब्द स्वीकारेको भन्दै काँग्रेसलाई ‘निम्छरो’को संज्ञा दिएका थिए।
माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ, कि जनयुद्ध भनिन्छ भनेर जवाफ फर्काएका हुन्।
उनले भने, ‘माननीयजीलाई म एकपल्ट शब्दकोश पल्टाएर हेर्न अनुरोध गर्छु, यो माछा युद्ध थियो ? भालुयुद्ध थियो ? जङ्गलका अर्नाहरू लडेका थिए ? कि रूख, ढुङ्गाहरू लडेका थिए ? माननीयजी शब्दकोश पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ, कि जनयुद्ध भनिन्छ । बिर्सनुभयो वृहद शान्ति सम्झौता माननीयजी तपाईँको नेताले हस्ताक्षर गरेको बिर्सनुभयो ? १२ बुँदे सहमति हामी त्यही शृङ्खलामा छौँ। नेपाली जनतालाई सार्वभौम बनाउनका लागि संविधान सभाबाट संविधान बनाउनका निम्ति जनयुद्ध लडिएको थियो ।’
जनयुद्ध मानिसका छोराहरू लडेको युद्ध भएको पौडेलले बताए ।