काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले आज आफ्ना मागहरूसहितको ज्ञापन पत्र बुझाएको छ ।
समूहका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर सात बुँदे ज्ञापन पत्र बुझाएको हो ।
सो ज्ञापन पत्रमा नेपालका विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोगका लागि आग्रह गरिएको छ ।
साथै फोटो सङ्ग्रहालयका लागि जग्गा भवन उपलब्ध गराउन पनि प्रधानमन्त्रीसमक्ष माग गरिएको छ ।
त्यस्तै, फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण पत्रकारहरूको बीमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवीमा फोटो पत्रकार विधा समावेश गरी फोटो पत्रकारहरूलाई पनि योगदानका आधारमा सम्मान गर्नुपर्ने माग गरिएको छ ।
फोटो पत्रकारहरूलाई व्यावसायिक, मर्यादित बनाउनका लागि तालिम दिन, वार्षिक रूपमा बजेट उपलब्ध गराउन र फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि सो ज्ञापन पत्रमा माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डलेले फोटो पत्रकारहरूका जायज मागहरू पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको सो समूहका अध्यक्ष वन्तले जानकारी दिए । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै अध्यक्ष वन्तले भने, ‘मागहरू जायज छन्, पूरा गर्न पहल गर्नेछु ।’

