खप्तडमा लगानी बढाउन सरकारको सहयोग आवश्यक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

खप्तडमा लगानी बढाउन सरकारको सहयोग आवश्यक


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले खप्तडमा लगानी बढाउनका लागि सरकारसँग सहकार्य गर्नुपर्ने बताएका छन् । सार्वजनिक निजी साझेदारीका आधारमा सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक पर्ने उनको भनाइ छ ।

खप्तडमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि महासङ्घसँगको सहकार्यका लागि आएको सङ्घीय सांसद र प्रदेशसभा सदस्यको टोलीसँग अध्यक्ष ढकालले भने, ‘पर्यटकीय पूर्वाधार निर्माणका लागि वातावरणीय मूल्याङ्कन र जग्गा प्राप्ति निकै कठिन रहेको हुँदा यी विषयमा सरकारले सहजीकरण गर्नुपर्छ ।’

उनले यसै पटकको बजेटबाट सरकारले सहजीकरण गरे तत्काल लगानी गर्न सकिने पनि बताए । सातै प्रदेशमा केवलकार निर्माणको नेतृत्व गरेका अध्यक्ष ढकाललाई खप्तडमा पनि केवलकार निर्माण सो टोलीले आग्रह गरेको थियो ।

यही जेठ २३, २४ र २५ खप्तडमा आयोजना हुने प्रवर्द्धन कार्यक्रममा सहभागी हुन अध्यक्ष ढकाललगायत महासङ्घका सदस्यलाई टोलीले निमन्त्रणासमेत गरेको छ ।

भेटमा राष्ट्रियसभा सदस्य गरिमा शाहले खप्तडमा भारतीयलगायत आन्तरिक पर्यटकको पनि आकर्षण रहने हुँदा निजी क्षेत्रका लागि पनि अवसर रहेको बताए । खप्तड क्षेत्र पर्यटन विकास व्यवस्थापन समितिका शेरबहादुर खड्काले प्रस्तावित कार्यक्रमले प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

भेटमा शाह, खड्का, प्रदेशसभा सदस्य दीर्घ सोडारी र दीपकसिंह ओली, नेपाली कांग्रेसका नेता गोविन्दबहादुर शाह, व्यवस्थापन समितिका सदस्य हर्कबहादुर सिंह सहभागी छन् । यसैगरी महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्य र कोषाध्यक्ष निरक केसीको समेत सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस