इलाम प्रशासनमा पोखरेलका एक सय दिन, यी हुन् सेवा प्रवाहमा भएका सुधार « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

इलाम प्रशासनमा पोखरेलका एक सय दिन, यी हुन् सेवा प्रवाहमा भएका सुधार


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । सहसचिव श्रवण कुमार पोखरेलले जिल्ला प्रशासन कार्यालय इलामको कमाण्ड सम्हालेको एक सय दिन पुगेको छ । २०७९ माघ १५ गते नवलपरासी पश्चिमबाट उनको सरुवा इलाममा भएको थियो । इलाममा प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाले लगत्तै उनी सेवा प्रवाहमा सुधार ल्याउन जुटेका थिए ।

प्रजिअ पोखरेलले गत माघ २५ गतेदेखि नै कार्यालय समय १०-५ को सीमालाई परिवर्तन गरी सेवा प्रवाहको समय विस्तार गरेका थिए । सेवाग्राहीको चाप व्यवस्थापनका लागि पोखरेले बिहान ७ बजेदेखि नै सेवा सञ्चालनको व्यवस्था मिलाए । सेवा प्रवाहलाई चुस्त बनाउन उनले सिफ्ट सिस्टमको सुरुवात गरे ।

पोखरेलले राहदानी वितरणमा देखिएको समस्या समाधानका लागि राहदानीको विद्युतिय फारम कार्यालयमा नै निःशुल्क भरिदिने व्यवस्थाको सुरुवात गरेका छन् । जसले बिचौलियालाई पैसा बुझाउनु पर्ने र क्यूमा बस्नुपर्ने बाध्यता हटेको उनले बताए ।

यसैगरी कार्यालयमा शनिबार बाहेकका बिदाका दिनमा पनि सेवा प्रवाह हुने व्यवस्था मिलाइएको छ । प्रिन्ट भएर आएको राहदानी लिनका लागि बिदाले असर नगर्ने व्यवस्था गरिएको छ । शनिबार बाहेक अन्य दिनमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा सञ्चालन हुने भएको छ । राष्ट्रिय परिचयपत्रको सेवा एकै दिनमा प्राप्त गर्न सकिने व्यवस्था मिलाएको पोखरेलले जानकारी दिए । कार्यालयले १६ वटा पर्व र जयन्तीजस्ता बिदामा नागरिकलाई सेवा दिने भएको छ ।

सेवा प्रवाह सहज र पारदर्शी बनाउन स्थानीय तहहरूसँग पनि सहकार्य सुरु भएको छ । स्थानीय प्रशासन र स्थानीय सरकार बीच एक दिवसीय बिचौलिया रहित सेवा प्रवाहको सुनिश्चितताको लागि ‘पाट्नरसीप एग्रिमेन्ट’ भएको छ । अनुमति बिना तालिम सञ्चालन गर्ने निजी क्षेत्रका तालिम प्रदायकहरूलाई अनुमति लिएर तालिम सञ्चालन गर्न निर्देशन दिनुका साथै कानूनबमोजिम कारबाहीका लागि प्रक्रिया अगाडी बढाइएको छ । 

सेवाग्राहीलाई सदरमुकाम नै आउनु पर्ने बाध्यता हटाउन सेवा प्रत्यायोजन गरिएको छ । इलाका प्रशासन कार्यालय प्रमुख र सीमा प्रशासन कार्यालय प्रमुखलाई प्रजिअले कानूनबमोजिम प्रत्यायोजन गर्न मिल्ने अधिकार प्रत्यायोजन गरी सेवाग्राही सदरमुकाम आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । नागरिकप एपमा पेन्डिङ रहेका नागरिकका रिक्वेस्टको समाधान गरी ‘डे टु डे’को अवस्थामा ल्याइएको छ ।

ह्यापी ड्रिम्स चेप्टी प्रा.लि.ले अतिक्रमण गरेको १७७ रोपनी जमिन खाली गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको निर्णयसहितको आदेश कार्यान्वयन तर्फ अघि बढाइएको छ । वैदेशिक रोजगारीका नाममा ठगिएकाहरूको उद्धार तथा पासपोर्ट फिर्ता गर्ने र यातायात व्यवस्थापन समिति इलामले निर्धारण गरेको भाडा दर कार्यान्वयनका लागि निर्देशन दिने काम भएको पोखरेलले जानकारी दिए । 

अतिरिक्त समयमा खटिने कर्मचारीहरूलाई प्रोत्साहनको व्यवस्था गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारीको आँटले सेवा प्रवाह छरितो गर्न सम्भव भएको सेवाग्राही र कर्मचारीहरू बताउँछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस