कोरोनाको आपत्‌कालीन स्थिति सकियो : डब्लूएचओ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोरोनाको आपत्‌कालीन स्थिति सकियो : डब्लूएचओ


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले कोभिड-१९ महामारी अब उप्रान्त विश्वव्यापी आपत्‌काल नरहेको घोषणा गरेको छ।

महामारीलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको तीन वर्षपछि सङ्गठनले शुक्रबार औपचारिक रूपमा महामारी अन्त्यतर्फ जान लागेको संकेतसहितको घोषणा गरेको हो। कोभिड-१९ को प्रकोप चीनसहित अन्य मूलकमा तीव्र गतिमा फैलन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले २०७६ माघमा विश्वव्यापी रूपमा आपत्‌काल घोषणा गरेको थियो।

महामारी उचाइमा पुगेका वेला सन् २०२१ को जनवरीमा एक सातामा विश्वव्यापी रूपमा एक लाखले ज्यान गुमाएकोमा अहिले यो मृत्युको संख्या घटेर प्रति साता तीन हजार पाँच सयमा ओर्लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानोमले महामारीबाट कम्तीमा दुई करोड मानिसको ज्यान गएको बताएका छन्।

कोभिड-१९ महामारीले संसारभरिको अर्थतन्त्र र जनस्वास्थ्यमा ठूलो सङ्कट पैदा गरेको थियो। यो महामारीपछि सुस्त भएको आर्थिक क्रियाकलापका कारण कयौँ देशका अर्थतन्त्र धराशयउन्मुख बनेका थिए।

नेपालमा पनि महामारीपछि लगाइएको बन्दाबन्दीका कारण ठूलो आर्थिक क्षति भएको थियो भने त्यसको प्रभाव अहिले पनि कायम छ। नेपालमा महामारीबाट १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन्।

सङ्गठनले कोभिड-१९ लाई आपत्कालीन सूचीबाट हटाएपछि अब संसारभरिको आवागमन र आर्थिक क्रियाकलाप थप सहज हुने अपेक्षा गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस