काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वी नवलपरासीको गैँडाकोटमा सञ्चालित मौलाकाली केबलकारको सोमबार औपचारिक उद्घाटन गरेका छन् । दुई छोरीसहित केबलकार चढेर मौलाकालिका मन्दिर पुगेका प्रधानमन्त्री दाहालले उत्पादन र रोजगारी वृद्धि गर्ने काममा निजी क्षेत्रसँग सरकारले हातेमालो गर्ने बताए ।
उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेकाले सहज वातावरण बनाउने प्रतिबद्धताका प्रधानमन्त्री प्रचण्डले चितवन र नवलपरासीलाई एउटै मोडलबाट विकास निर्माणको काम अघि बढाउन आफू प्रतिबद्ध रहेकोसमेत बताए ।
चन्द्रप्रसाद ढकालको आईएमई ग्रुपले सञ्चालनमा ल्याएको केबलकारमा डेढ अर्ब लगानी रहेको जनाइएको छ । १२ सय मिटर लामो केबलकारमा ६ वटा टावर रहेका छन् । ती टावरमा यात्रु चढ्ने १४ वटा गोण्डोला(डब्बा) मा १२ वटा यात्रु ओसार्ने, एउटामा सामान ओसार्ने र अर्को एउटा सर्भिसिङका लागि प्रयोग हुने जनाइएको छ ।
पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक ६ हजार यात्रु ओहोरदोहोर गर्न सक्ने मौलाकाली केबलकार कम्पनीले जनाएको छ । कम्पनीले डाँडामा सुविधा सम्पन्न ६० कोठाको होटेल पनि निर्माण गरेको छ ।