काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केपी शर्मा ओलीलाई राजसंस्था पक्षधरबारे गरेको टिप्पणी फिर्ता लिन आग्रह गरेको छ।
एमाले अध्यक्ष ओलीले आइतबार एक कार्यक्रममा ‘राजसंस्था मान्नेहरू फटाहा, मूर्ख र अज्ञानी हुन्छन्’ भनेका थिए। ओलीको उक्त अभिव्यक्ति आपत्तिजनक रहेको राप्रपाले बताएको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा भनेका छन्, ‘राजसंस्था पक्षधर ठूलो पङ्क्तिको आस्था र भावनामा चोट पुग्ने गरी एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण छ। राजसंस्था मान्नेहरू फटाहा, मूर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन्। आफ्नो अभिव्यक्ति फिर्ता लिन अनुरोध गरिन्छ। सँगसँगै प्रश्न पनि गर्न चाहन्छु-०६३ सालसम्म के ओलीजीहरू पनि फटाहा, मूर्ख र अज्ञानी हुनुहुन्थ्यो ?’
सम्बन्धित समाचार : स्वार्थी, फटाहा र बुद्धि नभएका मात्रै राजतन्त्रवादी : केपी ओली