काठमाडैँ । शाकाहारी खाद्यवस्तु र मांसाहारी खाद्यवस्तु छुट्टै प्याकेटमा प्याकेजिङ गर्ने कानुन निर्माणको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।
शाकाहारी खाद्यवस्तु हरियो प्याकेटमा र मांसाहारी खाद्यवस्तु रातो प्याकेटमा प्याकेजिङ गर्ने कानुन निर्माणको माग गर्दै बिहीबार बिबेक बख्रेलले निवेदक दर्ता गराएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, भक्तपुरको कौशलटारस्थित चाहना पाउरोटी उद्योग, ललितपुरको ठैबस्थित नाङ्लो बेकरी प्रालि र ढकाल बेकरी उद्योगलाई समेत विपक्षी बनाएर बख्रेलले निवेदक दर्ता गराएका छन् ।
उनले दिएको रिटमाथि सुनुवाइका लागि सर्वोच्चले आइतबार पेसी तोकेको छ ।
उपभोक्तालाई सहजै पहिचान गर्न सघाउ पुग्ने गरी अलग-अलग रङको प्याकेटमा शाकाहारी र मांसाहारी खाद्यवस्तुको प्याकेजिङ आवश्यक भएकाले सोहीअनुसारको कानुन निर्माणको माग राखेर रिट दायर गरेको निवेदक पोख्रेलले बताएका छन् ।
साथै, खाद्यवस्तुको लेबलमा कुन–कुन वस्तुको प्रयोग कति मात्रामा भएको भन्ने प्रस्टसँग उल्लेख गर्नुपर्ने कानुनी व्यवस्थासमेत कडाइका साथ परिपालना गराउन रिटमार्फत माग गरिएको छ ।