काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिक सत्रको सुरुमै विद्यार्थीका हात-हातमा पुस्तक हुनु सरकारको मुख्य उपलब्धि रहेको बताएका छन्।
आफू शिक्षामन्त्री भएको नौ महिनामा नेपालका धेरै विद्यालयमा पूर्वाधार निर्माण भएको भन्दै अबको आवश्यकता शैक्षिक सुधार रहेको बताए।
आज बागलुङ नगरपालिका-९ तित्याङ र बागलुङ नगरपालिका-१० भकुण्डे जोड्ने रिठ्ठेखोला झोलुङ्गे पुलको उद्घाटनपछि बोल्दै पौडेलले समग्र बागलुङको विकासका लागि आफू खटिएको बताए।
उनले शैक्षिक सत्र सुरु भएको छ महिना बित्दासमेत विद्यार्थीका हातमा पुस्तक नपुग्ने समस्या सधैँका लागि अन्त्य भएको बताउँदै जनक शिक्षा सामग्रीलाई परिमार्जन गर्नुको विकल्प नभएको बताए।
नेता पौडेलले अहिलेको सरकारले सुशासन, रोजगारी सिर्जना र भौतिक संरचनालाई प्राथमिकता दिएर बजेट निर्माणको तयारीमा लागेको बताए। सामुदायिक विद्यालय सुधार योजना अहिले कार्यान्वयन भइरहेको बताउँदै पूर्वमन्त्री पौडेलले अब भौतिक पूर्वाधारपछि गुणस्तरीय शिक्षाको विकासमा अहिलेको सरकार लाग्नुपर्ने आफूले सुझाव दिएको बताए।
बागलुङको प्रतिनिधि भएर दोस्रोपटक संसद् छिरेको भन्दै पौडेलले बागलुङका अधिकांश ठूला सडकका योजना अगाडि बढेको जानकारी दिनकारी दिए।
झोलुङ्गे पुलको जिल्लामा बागलुङ नगरपालिकाको तित्याङबाट भकुण्डे पुग्ने अर्को नयाँ झोलुङ्गे पुल थपिँदा स्थानीयलाई राहत भएको उनको भनाइ थियो।