नक्कली शरणार्थी बनाउने गिरोहविरुद्धको अनुसन्धानमा किन चुहाइयो सूचना ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नक्कली शरणार्थी बनाउने गिरोहविरुद्धको अनुसन्धानमा किन चुहाइयो सूचना ?


८ बैशाख २०८०, शुक्रबार


काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाउँदै असुली धन्दामा संलग्न गिरोहविरुद्धको अनुसन्धान जारी छ । काठमाडौं प्रहरी परिसरका अनुसार गिरोहविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान अगाडि बढाएको छ । 

परिसरले आइतबार सङ्गठित अपराधमा ७ दिनको म्याद लिएको छ । प्रहरीले पहिलो पटक म्याद थपेको मितिले ६० दिनसम्म हिरासतमा राखेर सङ्गठित अपराधमा अनुसन्धान गर्न सक्ने छ । 

करिब एक वर्षअघि आएको उजुरीको अनुसन्धानका क्रममा अहिलेसम्म ५ जना पक्राउ परेका छन् । अमेरिका पटाइदिन्छु भन्दै असुली धन्दामा संलग्न दाङका सन्देश शर्मा, ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र मोरङका सागर राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न मितिमा पक्राउ गरेको हो । 

उनीहरूसँग बयान लिने क्रममा आपराधिक संलग्नता देखिएकाले सङ्गठित अपराधको कसुरमा कानुनी कारबाही अघि बढाइएको प्रहरी परिसरले जनाएको छ । सार्वजनिक नै नभएको सरकारी प्रतिवेदनमा किर्ते गरेर असुली धन्दा चलाएको प्रकरणमा मुद्दा चलाउन अनुसन्धान अघि बढाइएको हो । भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची थपेर गिरोहका सदस्यले मोटो रकम असुलेका थिए । 

२०७६ जेठमा गृह मन्त्रालयका पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलमा विज्ञ सदस्यका रूपमा गणेशबहादुर केसी र सदस्यसचिवका रूपमा शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए । कार्यदलले मन्त्रालयमा बुझाएको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन । गृह मन्त्रालयमा रहेको गोप्य प्रतिवेदन प्रहरीले माग गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७७ सालदेखि हालसम्म कास्की, दाङ, मोरङ, रुकुमलगायतका जिल्लाका पीडितहरूले दिएको १० वटा छुट्टाछुट्टै किटानी जाहेरीसहितका कागजातहरू आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको जनाएको छ ।

सरकारी अधिकारी र राजनीतिज्ञ पनि मुछिए 

अनुसन्धानका क्रममा गिरोहका सदस्यहरूले पूर्व मन्त्री र सचिवको संलग्नता रहेको बयान दिएका छन् । बयानमा तत्कालीन गृहमन्त्री, गृह सचिव, मन्त्रीका सल्लाहकार र आफन्तलाई रकम बुझाएको उनीहरूले बताएका छन् । 

तत्कालीन गृहमन्त्री रामबहादुर थापासँग भेटघाट र छलफल गरेको आरोपितहरूले बयान दिएका छन् । यसैगरी पूर्व मन्त्री एवम् नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीको संलग्नता रहेको उनीहरूले बताएका छन् । थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, उनका छोरा निरज राईको नाम पनि बयानका क्रममा गिरोहका सदस्यहरूले लिएका छन् । 

यसअघि तत्कालीन गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डे र महेश्वर न्यौपानेको मिलेमतो रहेको उनीहरूले बयान दिएका थिए । पाण्डे हाल उपराष्ट्रपतिको कार्यालयमा कार्यरत छन् भने न्यौपानेले अवकाश लिइसकेका छन् । 

सरकारी अधिकारी र राजनीतिक नेतृत्वको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । असुली प्रकरणमा आवश्यकता अनुसार घटनामा जोडिएका सबै विषयमा अनुसन्धान हुने काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

मुद्दा कमजोर बनाउने खेल

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दामा नाम जोडिएपछि सरकारी अधिकारी र राजनीतिक नेतृत्वले मुद्दा कमजोर बनाउन आफूहरूको नाम जोडेको प्रतिक्रिया दिएका छन् । राजनीतिज्ञले गिरोहका सदस्यहरूसँग भेटघाट भएको स्वीकारेका छन् भने सरकारी अधिकारीले शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने विषयमा दबाब आएको बताएका छन् ।

एमाले सचिव टोपबहादुर रायमाझीले उनीहरूसँग बेलाबेलामा भेटघाट हुने गरेको भए पनि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने विषयमा कुनै छलफल र सरसल्लाह नभएको जानकारी दिए । ‘उनीहरूले बयानमा के भनेका छन्, त्यो थाहा भएन । राजनीतिज्ञको धेरैसँग चिनजान हुन्छ । विगतको भेटघाटलाई लिएर यसरी घटनामा मुच्छन् भन्ने लागेको थिएन,’ उनले भने, ‘अनुसन्धानकै क्रममा रहेको मुद्दामा बदनाम गर्ने गरी नाम किन यसरी जोडियो । म चाहन्छु दूधको दूध पानीको पानी होस् ।’ 

सरकारको सचिव जस्तो व्यक्ति यस्ता ठगी धन्दामा संलग्न हुने विषय कल्पनासम्म पनि गर्न नसकिने पूर्व गृह सचिव महेश्वर न्यौपाने बताउँछन् । ‘सचिव जस्तो मान्छेले व्यक्ति ठगी गरेर जाने कुरा पनि हुँदैन,’ उनले भने, ‘त्यो प्रोफाइलले पनि दिँदैन, मर्यादाले पनि दिँदैन, कर्तव्यले पनि दिँदैन ।’ आरोपितले नाम लिँदैमा दोषी नै हो भन्न नमिल्ने उनको भनाई छ । ‘अनुसन्धानको विषय नाम लिए लिएनन् कसरी थाहा हुन्छ ? अनुसन्धान त गोप्य हुनु पर्ने होला ?’ उनले भने ।

सचिव टेक नारायण पाण्डेले भने, ‘उनीहरूले साझेदार बनाएर संरक्षकत्व खोजे, हामीलाई जोडेपछि मुद्दा कमजोर बनाउन सकिन्छ र उन्मुक्ति पाउँछौँ कि भन्ने उनीहरूको दाउ हुन सक्छ ।’ 

किन चुहाइयो सूचना ?

अनुसन्धानको क्रममा रहेको मुद्दामा सरकारी अधिकारी र राजनीतज्ञहरुको नाम जोडिएको भन्दै सूचनाहरू बाहिर आउनुले कतै मुद्दा कमजोर पार्न खोजिएको त होइन भन्ने आशङ्का उब्जाएको छ । एकातर्फ अनुसन्धान गरिरहेका अधिकारीहरूले सूचना चुहाइ रहेका छन् भने अर्कोतर्फ गोप्य नीति–निर्णय उपलब्ध गराउने प्रशासनिक तथा राजनीतिक नेतृत्वसम्म अनुसन्धान पुगी सकेको छैन ।

पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लका अनुसार अनुसन्धान भइरहेको घटनामा सूचना चुहाइनुमा केही कारण हुन्छन् । अनुसन्धान गर्ने निकायले केश बिग्रिन्छ कि, जसरी अनुसन्धान अगाडी बढ्नुपर्ने हो त्यसरी अनुसन्धान अघि बढ्दैन कि भन्ने आशङ्का लाग्यो भने सूचनाहरू बाहिर ल्याउने गर्दछन् । 

‘मुद्दा नबिग्रियोस्, कसैले बदमासी नगरी देओस्, कुनै तहमा पुगेर मुद्दा कमजोर नहोस् भन्नका लागि सूचना चुहाउने गरिन्छ,’ उनले भने, ‘गलत स्वार्थको मान्छेले दोषीहरूलाई अलर्ट गराउनका लागि पनि सूचनाहरू लिक हुने गर्दछन् । म कुनै समूहबाट दबाबमा आए । मैले अनुसन्धान गरिरहेको छु । कुनै मान्छेलाई पहिले नै थाहा होस् भन्ने लाग्यो भने पनि सूचनाहरू लिक गर्ने गरिन्छ ।’ 

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा सूचना चुहाइनुमा पनि यी मध्ये कुनै एक कारण हुनसक्छ । शरणार्थीका नाममा भएको असुली धन्दा ठगी मुद्दाको रूपमा अघि बढ्यो । यस कारण पनि मुद्दा कमजोर भइसक्यो । तर, प्रहरी अधिकारीका अनुसार उजुरीका आधारमा भन्दा पनि अनुसन्धानमा भेटिएका तथ्य र प्रमाणका आधारमा मुद्दा बलियो बन्ने गर्छ ।

नेपालमा अनुसन्धान छोटो हुने गर्दछ । यस कारण आशङ्का र अनुमान गरिएका विषयमा अनुसन्धान पुग्नै सक्दैन । र त्यतातर्फ अनुसन्धान मोडिँदैन । अनुसन्धानका लागि कार्य दक्षता र मूल्याङ्कन पनि पर्याप्त छैन । आफूले गरेको काम मिडियामा दिनुपर्ने अथवा प्रचारप्रसार गर्नुपर्ने बाध्यता रहेको पूर्व प्रहरी नायब महानिरीक्षक मल्ल बताउँछन् । उनी भन्छन्, ‘यसलाई राम्रो मान्न सकिँदैन ।’

उनका अनुसार राजनीतिक दलहरूले बदमासी गर्नेहरूलाई संरक्षण गरेका धेरै उदाहरणहरू छन् । ‘राजनीतिज्ञको नाम लिइदियो भने संरक्षण हुन्छ भन्ने लागेको पनि हुन सक्छ,’ उनले भने, ‘ठगी धन्दा गर्नेहरू पनि राजनीतिमा छन् । राजनीतिक दल र तिनको नेतृत्वले अपराधीको संरक्षण गरेका छन् ।’

मल्लका अनुसार कागज किर्ते, ह्युमन ट्राफिकिङ, ह्युमन स्मग्लिङ जस्ता थप इस्युहरु पनि आउन सक्छन् । ‘नक्कली कागज बन्दै छ । म गलत बाटोबाट अमेरिका जाने प्रयास गर्दै छु भन्ने पनि थाहा छ,’ उनले भने, ‘यो अपराधभित्र अन्य अपराधहरू जोडिएका हुनु सक्छन् । अनुसन्धान गहिराई सम्म लैजानु पर्छ ।’

प्रहरी अनुसन्धानमा पनि शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनी भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धी फर्म भर्न लगाई प्रति व्यक्ति १५ देखि २० लाख रुपैयाँ असुल गरेको देखिन्छ । यसैगरी पीडितहरूमध्ये १० जनाभन्दा बढीको नाममा नेपाल सरकार गृह मन्त्रालयको नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टसमेत बनेको पाइएको छ ।

गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीहरूसँग सेटिङ भइरहेको भन्दै गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र,  निर्णयहरू एवम् पत्रपत्रिका र अनलाइनहरूमा आएका फोटो र न्युजहरू तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीहरूको सरुवा सम्बन्धी समाचारसमेत पीडितहरूलाई सेयर गरी शतप्रतिशत काम हुन्छ भनी अनेक बहाना बनाई लामो समयसम्म पीडितहरूलाई आश्वासन दिई राखेको विषय पनि अनुसन्धानमा खुलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस