काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताएका छन्।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले आज तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आयोजित चुनावी सभामा प्रधानमन्त्री दाहालले यो यात्रालाई पूर्णता दिने अभियानमा आफूहरू रहेको बताएका हुन्।
उनले देशमा सुशासनको यात्रा सुरु भइसकेको भन्दै त्यसलाई पूर्णता दिन आफूहरू प्रतिबद्ध रहेको बताए। मुग्लिन पोखरा सडकको काम सुस्त गतिमा भएकाले जनताले असजिलो र पीडा महसुस गर्दै आएकाले सडकको कामलाई तीव्रता दिइने प्रधानमन्त्री दाहालले बताए। बन्दीपुरमा लिफ्टिङ गरेर खानेपानी योजना पूरा गराउन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले तनहुँ र चितवन जोड्ने घुमाउनेमा बन्दै गरेको पुल एक वर्षभित्र निर्माण सम्पन्न गरिने उल्लेख गरे।
भानु जन्मस्थललाई संसारभरिका नेपाली भाषीले अध्ययन गर्ने साधना केन्द्रका रूपमा विकास गरिने बताउँदै प्रधानमन्त्री दाहालले भानुभक्त प्राणी उद्यानको कामलाई गति दिइने उल्लेख गरे। दलित, आदिवासी जनजातिको समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
देवघाट ऐतिहासिक स्थल नेपालका मात्र नभई दक्षिण एसियाका लागि प्रसिद्ध रहेकाले देवघाटमा सांस्कृतिक विश्वविद्यालय बनाउनेबारेमा गम्भीर अध्ययन गरिने दाहालले विश्वास व्यक्त गरे।