काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/७९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ वार्षिक प्रतिवेदन, २०७८/०७९ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
प्रधानमन्त्री प्रचण्डले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तैगरी, प्रधानमन्त्रीले नै ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ पारित गरियोस्’, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस्’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
