सूर्य विनायक-साँगा ६ लेन सडक खण्डको विस्तार सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सूर्य विनायक-साँगा ६ लेन सडक खण्डको विस्तार सुरु


१६ चैत्र २०७९, बिहिबार


भक्तपुर । सूर्य विनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाअन्तर्गत सूर्य विनायक-साँगा सडक खण्डको विस्तार आजदेखि सुरु भएको छ ।

आयोजनाले आज सूर्य विनायकमा आयोजना गरेको सडक विस्तार शुभारम्भ कार्यक्रममा भक्तपुर-२ का सङ्घीय सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य किरण थापा, सूर्य विनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, योजना प्रमुख राजेन्द्रप्रसाद दासलगायत भक्तपुरका जनप्रतिनिधिले संयुक्त रूपमा ढुङ्गा बिछ्याएर सडक विस्तार कार्यको सुरुवात गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य थापाले यो सडकको विस्तार योजनामा सङ्घीय सरकारअन्तर्गतकै बजेट रहेकाले बजेटको कमीले सडक निर्माणमा ढिलाइ नहुने बताए । उनले कुनै पनि सडक निर्माण हुँदा कम्तीमा २५ वर्षपछिको भविष्य हेरेर कार्य गर्नुपर्नेमा जोड दिँदै सडकमा जेब्रा क्रसिङ, आकाशे पुललगायतका विभिन्न संरचना कहाँ र कसरी राख्ने भन्ने निर्णय अगाडि नै हुनुपर्ने बताए ।

प्रदेशसभा सदस्य थापाले आफू वडाध्यक्ष हुँदा सडक पेटीका संरचना हटाएर सडक जाम खुलाउने र सडक अतिक्रमणलाई रोकेको बताउँदै सडक निर्माणमा सबैको सहयोग हुनुपर्नेमा जोड दिए । उनले यो सडक निर्माणको क्रममा सवारी जाम हुन सक्ने भन्दै सूर्य विनायक सिपाडोल साँगाको वैकल्पिक बाटो प्रयोग गरी ट्राफिक व्यवस्थापन गर्न सकिने सुझाव दिए ।

सूर्य विनायक नगरपालिकाका प्रमुख थापाले यो सडक खण्डमा सूर्य विनायकका तीन वटा वडा पर्ने भन्दै स्थानीयवासीलाई असुविधा नहुने गरी सडक निर्माण कार्य अगाडि बढाउन आग्रह गरे । भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष उकेश कवांले ठेक्का सम्झौता र मापदण्डअनुसार सडक निर्माण गर्न र सम्भावित दुर्घटना एवं धनजनको क्षति नहुने गरी काम गर्न सुझाव दिए ।

आयोजना प्रमुख दासले सडक शिलान्यास गर्न बाँकी नै रहे पनि निर्माण कम्पनीले काममा ढिलाइ नगर्नका लागि शुभ साइत निकालेर आजदेखि सडक विस्तार कार्य शुभारम्भ गरेको बताए ।

साढे सात किलोमिटर लामो सूर्य विनायक(साँगा सडक खण्ड कूल रु तीन अर्ब ८८ करोड ९३ लाखको लागतमा मुख्य चार लेन र दायाँबायाँ दुई लेन सर्भिस ट्र्याक रहने गरी ६ लेन सडक आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी आयोजनासँग आशिषकुमार श्रेष्ठ बन्दन भगवती जेभीले ठेक्का सम्झौता गरेको आयोजना प्रमुख दासले जानकारी दिए ।

सडक निर्माणका लागि दुई वर्ष अगाडि नै ८२ मिटरभित्रका रुखहरू काटिएको, सडकभित्र बनेको टहरा हटाइएको र सडकको सर्भिस ट्र्याक खुलाइएको थियो । बाँकी रहेका मापदण्डभित्र परेका घर भत्काइने र पाटी तथा मन्दिर सारिने भएका छन् ।

सूर्य विनायकबाट धुलिखेलसम्म १६ दशमलव तीन किलोमिटरमध्ये पहिलो चरणमा रु चार अर्ब पाँच करोड ६४ लाखको लागतमा सम्पन्न गर्ने गरी धुलिखेलदेखि साँगासम्मको आठ दशमलव चार किमी सडक खण्डको ठेक्का पाएको लामा कन्स्ट्रक्सनले केही दिन अगाडि नै निर्माण सुरु गरेको छ ।

सडक विस्तारको ठेक्का पाएको कम्पनी आशिषकुमार श्रेष्ठ बन्दन भगवती जेभीका सञ्चालक रामजी पन्तले वर्षामा पनि काम नरोक्ने गरी सम्झौता भएकै मितिभित्र सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिने प्रतिबद्धता व्यक्त गरे ।

आयोजनाका अनुसार सडकको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) मा केही परिवर्तन हुँदा पुल निर्माणका लागि भने छुट्टै ठेक्का आह्वान गरिने छ । करिब रु एक अर्ब लागतमा यो सडकमा २०-२० मिटरका तीन पुल, जगाती, महादेवखोला पेट्रोल पम्प नजिक निर्माण गरिने आयोजनाले जनाएको छ । यसका लागि प्रतिमिटर १५ लाख लागत अनुमान गरिएको छ ।

साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने-आउने लेन तल-माथि हुने भएकाले सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था आएको छ।

आयोजनाका अनुसार अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फी अहिलेकै सडकलाई बनाउने र सूर्य विनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ ।

गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण हुनेछ । सडकको बीचमा तीन मिटरको ‘मेडियन’ निर्माण गरिने छ ।

काठमाडौँबाट धुलिखेलतर्फ जाने लेनमा नयाँ पर्खाल लगाइने छ भने आउने लेनमा पहिलेकै रूपमा रहने छ ।

सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब एक अर्ब मुआब्जा दिनुपर्ने अनुमान आयोजनाले गरेको छ । आयोजना निर्माण सम्पन्न भएपछि धुलिखेल-भक्तपुरको सवारी चाप कम भई निकै सहज हुनेछ ।

संघीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्य पहाडीका बिपी र पुष्पलाल राजमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग यो राजमार्ग जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै कोशी प्रदेश र मधेस प्रदेशका नागरिक काठमाडौँ आउजाउ गर्दछन् ।

सडक विस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडक खण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ ।

हाल कोटेश्वरबाट लामा दूरीका सवारी साधन मात्र यो सडक हुँदै दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस