पोखरामा आलुको पहाड निर्माणका लागि आलु सङ्कलन हुँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पोखरामा आलुको पहाड निर्माणका लागि आलु सङ्कलन हुँदै


१६ चैत्र २०७९, बिहिबार


गण्डकी । विष्णु पादुका क्लब पोखरा महानगरपालिका-२५ हेमजाको आयोजनामा हुने ११औँ राष्ट्रिय हेमजा आलु महोत्सवको आकर्षण आलुको पहाड निर्माणार्थ आलु सङ्कलन भइरहेको छ ।

यही चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा निर्माण गरिने आलुको पहाडका लागि आलु सङ्कलन भइरहेको कृषक परिचालन उपसमिति संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए ।

हालसम्म ५० केजीको पाँच सय ५० बोरा आलु सङ्कलन भइसकेको जानकारी दिँदै उनले अब ५० बोरा सङ्कलन गर्न बाँकी रहेको बताए ।

हेमजामा आलुको उत्पादन घटेको भए पनि महोत्सवका लागि यहाँको आलुले पुग्ने उल्लेख गर्दै उनले बाहिरी आलु ल्याएर महोत्सव गर्न लागिएको भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे । आलुका साथै अन्य तरकारी बिक्री स्टल राख्नुपर्ने उनको भनाइ छ ।

महोत्सवलाई कृषकको महोत्सव बनाउन कृषि विकास निर्देशनालय गण्डकी प्रदेशलगायत कृषि ज्ञान केन्द्र तथा कृषि सञ्जालसँग छलफल भइरहेको महासचिव वसन्तकुमार श्रेष्ठले बताए ।

कृषि महाशाखाको पहलमा कृषि विशेषज्ञ र कृषकबीच कृषि साझा सवाल आयोजना गरिने जानकारी दिँदै उनले महोत्सवका लागि विभिन्न कृषि निकायसँग समन्वय भइरहेको र आलुका साथै रैथाने बालीको प्रदर्शन गरिने बताए।

महोत्सवको समयावधि नजिक आइरहँदा बुधबारसम्म स्टल निर्माणसँगै बुकिङ भइरहेको स्टल तथा रेष्टुराँ उपसमिति संयोजक राजेन्द्र थापाले जानकारी दिए । उनका अनुसार केही कृषि तथा रेष्टुराँका स्टल बुकिङ भइसकेको छ ।

‘सुन्दर ठाउँ हेमजा जाऊँ: आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ गर्न लागिएको महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रियस्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता आदि हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस