काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित रहेको बताएका छन्।
शनिबार लायन्स क्लब अफ इन्टरनेशनद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान समस्याहरूको समाधानका लागि सरकारलाई साथ दिन निजी क्षेत्र, सामाजिक संंघ, संस्था र नागरिक अगुवाहरूलाई समेत आग्रह गरे।
आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न केन्द्रित रहेको दोहोर्याउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि आफूले राष्ट्रिय सहमति र सहकार्यमा जोड दिएको पनि स्पष्ट पारे।
उनले भने, ‘वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यको आधारमा देशमा विद्यमान आर्थिक, राजनीतिक चुनौतीहरू छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सङ्कल्प गर्दछ। बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नु, निराशालाई चिर्दै देशमा आशाको रक्त सञ्चार सृजना गर्नु, राष्ट्रिय सहमति र सहकार्यका आधारमा चुनौतीहरूलाई अवसरमा बदल्नु मेरो दृढ सङ्कल्प रहेको छ।’
प्रधानमन्त्री दाहालले दूर दराजमा रहेका विपन्न सबै समुदायसम्म पुगेर त्यहाँका युवाहरूको नेतृत्व विकास गर्ने गरी नीति, कार्यक्रम र कार्य योजना बनाउन पनि लायन्स क्लबको ध्यानाकर्षण गराए।