काठमाडौँ। धनगढीमा चैत्र दोस्रो साता हुने विश्व नेपाली नारी साहित्य सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा चैत्र १० देखि १३ गतेसम्म चार दिन सम्मेलन हुने छ ।
साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमार लगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जानकारी दिएका छन् ।
समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने छ । अध्यक्ष पाण्डेयका अनुसार साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशिको बद्री-कृष्णा बाङ्गमय पुरस्कार प्रदान गरिने छ ।
सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा अमेरिका पनि सहभागी हुनेछन् ।
सम्मेलन आयोजनाका लागि मूल आयोजक समितिका साथै डेढ दर्जन बढी उपसमितिहरू गठन भएका छन् । सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको अध्यक्ष पाण्डेयले बताए । सम्मेलनमा सञ्चालन गरिने अन्तरसंवाद सत्रहरूको टुङ्गो लगाउने काम भइरहेको बताए ।