प्रदेश १ को नाम कोशी राख्ने प्रस्तावमा काँग्रेसले फिर्ता लियो समर्थन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश १ को नाम कोशी राख्ने प्रस्तावमा काँग्रेसले फिर्ता लियो समर्थन


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश १ को नाम कोशी राख्न दिएको समर्थन फिर्ता लिएको छ।

बुधबार बिहान एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली काँग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएको थियो।

प्रस्ताव दर्ता भएको केही घण्टापछि काँग्रेसका राजवंशीले प्रदेश सभा सचिवालयमा आफ्नो समर्थन फिर्ता भएको निवेदन दिएका छन्। पहिलाको प्रस्तावबाट काँग्रेस किन पछि हटेको भन्नेचाहिँ खुलाइएको छैन।

प्रदेश १ को किरात लिम्बुवान सगरमाथा राख्न प्रदेश सभामा अर्को प्रस्ताव पनि दर्ता भएको छ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बताए।

जनता समाजवादी पार्टीले पनि एकीकृत समाजवादीकै प्रस्तावमा समर्थन जनाएको छ। प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

बहुपहिचानसहितको नाम प्रस्ताव गरेर आफूहरूले चुनावमा गरेको वाचा पूरा गरेको एकीकृत समाजवादीका नेता राईले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस