प्रहरी नेतृत्व चयनका बेला एक अर्कालाई गरिने बदनामीको असर  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरी नेतृत्व चयनका बेला एक अर्कालाई गरिने बदनामीको असर 


१५ फाल्गुन २०७९, सोमबार


केही दिनदेखि नेतृत्वमा जान तयार रहेका प्रहरी अधिकारीहरूका बारेमा सञ्चार माध्यममा नानाथरीका समाचार आईराखेका छन् । एक अवकाश प्राप्त प्रहरी अधिकारीका नाताले विभागको नेतृत्वका बारेमा लेखेको विषय हाम्रो पनि सरोकारको विषय हुँदो रहेछ । म आफू पनि लेख्ने भएकोले कहीँ कसैसँग भेटघाटका क्रममा यस्ता कुरा सोधिने विषय बन्न पुग्दा रहेछन् ।

नेपाल प्रहरीको नेतृत्व चयनका बेला जहिले पनि एक-अर्का विरुद्ध नकारात्मक र बदनाम गर्ने विषयवस्तु सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लेख्ने र लेख्न लगाउने रोग पुरानै हो । कार्यदक्षता मूल्याङ्कनका आधार प्रस्ट नहुनु, पद पनि सीमित हुनु र आकाङ्क्षी समूह ठुलो हुनु नै यसका कारण हुन् । आफू परिँदैन कि भनेर आफैप्रति विश्वास नहुनेहरु एक्लै या समूह बनाएर विभागको काम कार्यवाहीमा जिम्मेवार लिने अधिकारी जो अवरोधको रूपमा देखिन्छन्, बदनामी तिनीहरूप्रति लक्षित देखिन्छ ।

विषयवस्तु नबुझेर कुनै अधिकृतलाई बदनाम गर्दा यसले व्यक्तिलाई त असर नगर्ला तर समाजमा कानुन कार्यान्वयनको जिम्मा लिएका प्रहरी अधिकारीहरूप्रति भने अविश्वास पैदा गरिरहेको हुन्छ । अर्कोतर्फ यस्ता समाचारले परिवारमासमेत असर गरिरहेको हुन्छ ।  

म प्रहरीमा हुँदा पटक-पटक भारतीय प्रमाणपत्र छानबिन समिति गठन भएका थिए र आँखाको तारा भारतमा पढेर आएका हामी हुने गर्दथ्यौँ । प्रमाणपत्रका प्रतिलिपिहरू बुझाउँदा आफैलाई अपराध बोध हुने गर्दथ्यो, जबकि म  भारतको प्रतिष्ठित शैक्षिक संस्थाबाट अध्ययन गर्दागर्दै प्रहरी निरीक्षक भएको थिएँ । तैपनि दोषी आँखाहरू थिए कार्यालयमा, जो मलाई दोषी देख्थे । अनि सञ्चार माध्यममा समाचार आउँदा थप तनाव सिर्जना गर्नेगथ्र्यो । मानौँ कि मैले भारतमा पढेर कुनै ठुलो अपराध गरेकी भनेर !

अहिले केही दिनदेखि उमेर लुकाएको या उमेर सच्याएर जागिरमा आएको समाचार दैनिक पढ्न पाईराखिएको छ । जहाँ गए पनि यही नै चर्चा परिचर्चाको विषय बन्ने गरेको पाइन्छ । र, एउटा मापदण्ड नै स्थापित होला जस्तो छ कि प्रहरीमा जागिर खान आउने सबै विवरण ढाँटेर आउँछन् कि भनेर । प्रहरीमा जागिर खान आउनेको सम्पुर्ण कागजपत्र विस्तृत रूपमा हेरिएको मेरो आफ्नो अनुभव छ र उमेर पनि क्यालकुलेटरले हिसाब गरेको सम्झना छ । 

त्यसैले यदि भर्नाको समय केही गल्ती हुन्छ भने सम्बन्धित व्यक्तिको मात्रै दोष हो जस्तो मलाई लाग्दैन, भर्नाको जिम्मा लिएका कर्मचारीको पनि जिम्मेवारी हुन्छ । एक जनाको कैफियत देखियो र उनी राजीनामा दिएर गए । र, बाँकीलाई पनि सोही प्रकारको गल्तीको अपराध गरेको छ भनेर जुन समाचार आईराखेका छन् र बहसको विषय बनिरहेको छ, त्यसबारे प्रहरी प्रधान कार्यालयले सही के हो र गलत के हो भनेर प्रस्ट्याउनु पर्दछ । 

यदि कसैको हकमा कैफियत छ भने पनि प्रस्ट्याउनु पर्दछ र गल्ती नै गरेको भेटिए त्यसको भारी उसैलाई बोकाउनु पर्छ, न कि सङ्गठनका अन्य अधिकारीहरू । केही महिनापछि आउने नयाँ नेतृत्वप्रति लक्षित भईरहँदा तालुक गृह मन्त्रालयले अहिलेसम्म किने केही नबोलेको ? 

उमेरका हकमा अलमल वा शङ्काको अवस्था आएमा के गर्ने भनेर प्रहरी ऐन तथा नियममा नै व्यवस्था गरेको छ । यदि अहिलेको जमानामा प्रहरीको नागरिकता र अन्य प्रमाणपत्रमा शङ्का लागेमा प्रहरी प्रधान कार्यालयबाहेक गृह मन्त्रालयमासमेत रेकर्ड हुन्छ । प्रमाणपत्रको हकमा परीक्षा नियन्त्रण कार्यालय तथा विश्वविद्यालयमा र नागरिकताका हकमा कुनै संस्थान बाँकी छैन होला हाम्रो नागरिकता नभएको । मागेर हेरे भयो त !

अन्त्यमा काम गर्ने प्रहरी कर्मचारी सफाई दिँदै ठिक्क छन् भने आईहरेका समाचारले सही हो कि जस्तो पर्न गएको छ आम नागरिकमा । तसर्थ, विभाग र भविष्यमा नेतृत्वको दौडमा रहेका प्रहरी कर्मचारीको साख जोगाउनका लागि पनि प्रहरी प्रधान कार्यालयले यो विषयमा प्रेस रिलिज गरेर प्रस्ट्याउन जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस