सर्लाही । सर्लाहीको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी (चजब) क्याम्पसले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेपछि विद्यार्थीहरू आन्दोलित भएका छन् ।
उनीहरूले निर्धारित मिति चैत ५ गते नै स्ववियु निर्वाचन गराउनुपर्ने माग गर्दै आज बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुख पोखरीमा टायर बालेर प्रदर्शन गरे । उनीहरूले क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासन शाखामा तालाबन्दीसमेत गरेका छन् ।
अखिल क्रान्तिकारीका नेता विवेक मैनालीले क्याम्पस प्रमुख र व्यवस्थापन प्रमुखले विद्यार्थीहरूसँग समन्वय नगरी शुक्रबार राति एकलौटी ढङ्गले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेकाले विरोध प्रदर्शन गरेको बताए ।
क्याम्पस प्रमुख गङ्गा बहादुर भुजेलले भने विद्यार्थी भर्नाको विषयमा सामान्य विवाद रहेकाले त्यसलाई समाधान गरेर मात्र स्ववियु निर्वाचन गराउने भनेर स्थगित गरिएको बताए । ‘भर्नाको विषयमा विवाद भएकाले स्ववियु निर्वाचन अहिले स्थगित गर्ने निर्णय गरेका हौँ,’ क्याम्पस प्रमुख भुजेलले भने, ‘विवाद समाधानका लागि आज सर्वपक्षीय भेला पनि बोलाएका छौँ ।’