सरकार पुनर्गठनमा हतार गर्न हुँदैन : काँग्रेस « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

सरकार पुनर्गठनमा हतार गर्न हुँदैन : काँग्रेस


१३ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले नयाँ सत्ता समीकरणका विषयमा छलफल नै सुरु नभएको बताएका छन् ।

शनिबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले भर्खरै राष्ट्रपतिको विषयमा टुङ्गो लागेको अवस्थामा दलहरुबीच नयाँ सत्ता समीकरणका विषयमा छलफल नै सुरु नभएको बताएका हुन् ।

काँग्रेस नेता शेखर कोइरालाले राष्ट्रपतिका विषयमा दलहरुबीच छलफल भए पनि अहिले नै सरकारका विषयमा छलफल गर्ने बेला नभएको बताए ।

उनले एमालेले सरकार नछाडेको अवस्थामा अहिले नै काँग्रेस सरकारमा जान नहतारिने जिकिर गरे । मुलुकका लागि रामचन्द्र पौडेल सक्षम पात्र भएको र राष्ट्रपति निर्वाचनमा सबैले सहयोग गर्ने उनले बताए ।

त्यस्तै, काँग्रेस उपसभापति धनराज गुरुङले सरकार पुनर्गठनमा जान हतार गर्न नहुने बताए । प्रचण्ड नेतृत्वको सरकार रहेको अवस्थामा २५ गतेपछि पनि प्रचण्डकै सरकारले निरन्तरता पाउने उनको भनाइ छ ।

काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले नयाँ सत्ता समीकरणका विषयमा छलफल गर्ने बेला नभएको तर आगामी दिनमा भने नयाँ समीकरण बन्न सक्ने तर्क गरे । उनले २५ गतेसम्म धमिलो पानीमा खेल्ने एमालेको षडयन्त्र पूरा नहुने जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस