‘पीपीएमा घुस लिएको प्रमाणित भए खुलामञ्चमा झुण्डिन तयार छु’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘पीपीएमा घुस लिएको प्रमाणित भए खुलामञ्चमा झुण्डिन तयार छु’


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले विद्युत् खरिद सम्झौताको खुला गर्दा कुनै आर्थिक चलखेल नभएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रसँग विद्युत् खरिद सम्झौता गर्दा ऊर्जा मन्त्रीले एक अर्ब रकम लिएको भनेर सुनियोजित ढङ्गबाट दुष्प्रचार गरिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘विद्युत् खरिद सम्झौतामा मात्र होइन, मेरो जिम्मेवारीमा रहेको मन्त्रालयमा हुने कुनैपनि निर्णयमा मैले एक रुपैयाँ मात्र पनि घुस या कमिसन लिएको कसैले प्रमाणित गर्छ भने खुलामञ्चमा गएर झुण्डिन तयार रहेको सबैमा जानकारी गराउन चाहन्छु ।’

उनले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर नै काम गर्ने दोहोर्‍याएका छन् । ‘मैले यो कसैलाई भन्न र प्रचारका लागि मात्र प्रयोग गरेको वाक्य होइन,’ उनले लेखेका छन्, ‘राम्रो गर्ने प्रयत्न गर्नेछु । नराम्रो गर्ने छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस