धनगढी । व्यवसायी दुर्गा प्रर्साईँले आफ्नो अभियान राजा फर्काउनका लागि नभएको बताएका छन् ।
बुधबार धनगढीमा आयोजित कार्यक्रममा प्रसाईँले आफूले थालेको अभियानलाई कतिपयले राजा फर्काउने अभियान भनेर टिप्पणी भइरहेको भन्दै त्यसको खण्डन गरे ।
उनले भने, ‘हाम्रो यो कार्यक्रमलाई कति जनाले राजा ल्याउने, महाराजा ल्याउने हो भनेर भनिरहेका छन् तर त्यस्तो होइन । यहाँ गरिबको चुलो बाल्ने कुरा छ । झोला बोकेर विदेश पस्नेहरूलाई स्वदेशमै रोजगारी दिन र नागरिकलाई बचाउन कार्यक्रम ल्याएका छौँ ।’
उनले राजनीतिक दलहरूले व्यवसाय गरेर बसेको मान्छेलाई विद्रोह गरेर सडकमा ल्याउन बाध्य पारेको दाबी गरे। पूर्व राजाबाट कार्यक्रम उद्घाटन गरेकै घरमा एमालेले आफूलाई कारबाही गरेकामा असन्तुष्टि जनाए ।
‘हिजो मेरा हजुरबुवा केपी ओलीले पूर्व राजाबाट पानसमा दियो बालेकै कारण मलाई कारबाही गर्नुभयो । उहाँले नै हामीलाई पार्टीको निर्णय गराएर राजतन्त्रको एजेन्डा बोक्ने राजेन्द्र लिङ्देनलाई भोट हाल्न लगाउनुभयो । अब तपाईँहरू भन्नुस् कारबाही उहाँलाई गर्ने कि मलाई ?’ प्रसाईँले भने ।