पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिप्रति एकीकृत समाजवादीको आपत्ति  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिप्रति एकीकृत समाजवादीको आपत्ति 


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

सोमबार अपराह्न एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वराजा शाहको वक्तव्य ‘लोकतान्त्रिक गणतन्त्रविरुद्धको असंवैधानिक र अनधिकृत’ भएको टिप्पणी गरेका छन् । 

विज्ञप्ति :

जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरेको नेपालको संविधानद्वारा सामान्य नागरिक बनाइएका पूर्व राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते ७३ औँ प्रजातन्त्र दिवसको सन्दर्भमा दिएको वक्तव्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यो वक्तव्य लोकतान्त्रिक गणतन्त्र विरुद्धको असंवैधानिक र अनधिकृत वक्तव्य हो । नेपालमा जनक्रान्तिद्वारा राजतन्त्रको अन्त्य गरिसकिएको र अहिले कोहीपनि “ श्री ५ महाराजाधिराज” नरहेको तथा सम्पूर्ण नेपाली सामान्य नागरिक भइसकेको ब्यहोरा सर्वविदितै छ । उक्त वक्तव्यमा गणतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूप्रति जसरी लाल्छना लगाइएको छ, त्यो आपत्तिजनक छ ।

केही दिन अगाडि झापाबाट सुरु भएको एउटा गणतन्त्र विरोधी अभियानको उद्घाटन गरेका ज्ञानेन्द्र शाहले विगतमा राजतन्त्रले पटक-पटक जनताका अधिकारमाथि धावा बोलेको प्रसङ्गलाई ढाकछोप गरेर गणतान्त्रिक व्यवस्था विरुद्ध बोल्नु सरासर गलत कुरा हो । यसले मुलुकको अग्रगमन र प्रगति चाहनेहरूलाई गम्भीर र चिन्तित बनाउनु स्वाभाविक छ । अतः सबै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति र व्यक्तिहरू यस खाले गतिविधिका विरुद्ध एकजुट भएर प्रतिवाद गर्न हाम्रो पार्टी हार्दिक आह्वान गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस