बाइक राईडर र ट्याक्सी ड्राइभरका रूपमा दुबई र कतार जान रोक « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

बाइक राईडर र ट्याक्सी ड्राइभरका रूपमा दुबई र कतार जान रोक


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । बाइक राईडर र ट्याक्सी ड्राइभरका रूपमा दुबई र कतार जान रोक लागेको छ । वैदेशिक रोजगार विभागले दुबई र कतारमा बाइक राईडर र ट्याक्सी ड्राइभर पदका लागि जान रोक लगाएको हो । 

बाइक राईडर र ट्याक्सी ड्राइभरका रूपमा जाने धेरै जसो नेपाली श्रमिक विभिन्न समस्यामा परेको भन्दै विभागले पूर्वस्वीकृति प्रदान नगर्ने निर्णय गरेको हो । 

विभागमा दिनहुँ जसो समस्यामा परेको भन्दै उजुरी तथा गुनासोहरू आउने गरेका छन् । उक्त काममा लागि गएका श्रमिकहरूले तोकिए बमोजिम न्यूनतम तलब समेत नपाउने गरेको गुनासो विभागमा आउने गरेको छ । त्यस्तै सहज रूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय काम विहीन भई बस्नुपर्ने अवस्था समेत रहेको छ । उनीहरूलाई सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनबारे जानकारी नहुँदा ट्राफिक कारबाहीमा पर्ने गरेका छन् । जसले गर्दा उनीहरूले ठूलो रकम जरिवानाका लागि बुझाउनुपर्ने अवस्था छ । 

ट्राफिक नियमबारे जानकारी नहुँदा दुर्घटनामा समेत पर्ने गरेको भन्दै विभागले रोक लगाउने निर्णय गरेको हो । ती देशहरूमा रहेका नेपाली दूतावासले समेत ती पदहरूका लागि मागपत्र प्रमाणीकरण नगर्न अनुरोध भएको थियो । 

समस्याका गुनासा दिनहुँ आउने र दूतावासले समेत यी काममा लागि कामदार नपठाउन अनुरोध भएपछि विभागले पूर्व स्वीकृति नदिने निर्णय गरेको विभागमा सूचना अधिकारी तथा निर्देशक कृष्ण प्रसाद भुसालले बताए । यी मुलुकहरूमा बाइक राईडर र ट्याक्सी ड्राइभर पदमा श्रमिक पठाउन सुरक्षित नदेखिएकोले अर्को निर्णय नभएसम्मका लागि बाइक राईडर र ट्याक्सी ड्राइभर पदको पूर्वस्वीकृति प्रदान नगर्ने निर्णय गरिएको भुसालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस