सबै दल मिलेर मुलुकको समस्या सामना गर्नुपर्छ : मन्त्री लिङ्देन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सबै दल मिलेर मुलुकको समस्या सामना गर्नुपर्छ : मन्त्री लिङ्देन


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था सुदृढ गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका छन्। 

आज मेचीनगरको धुलाबारीमा मेची उद्योग वाणिज्य सङ्घको नवौँ पद हस्तान्तरण तथा शपथग्रहण कार्यक्रममा उनले देशको स्थिति सामान्य आँखाले देखेजस्तो नरहेकाले राजनीतिक दलहरूले मिलेर यो समस्याको सामना गर्नुको विकल्प नभएको बताए। 

उपप्रधानमन्त्री लिङ्देनले कुनै पनि राजनीतिक दललाई मात्र जनताले विश्वास गरेर मत नदिएको बताउँदै भने, ‘हामीलाई मिलेर काम गर्ने जनताले जनादेश दिएका छन्। एकले अर्को राजनीतिक दललाई निषेध गरेर जान मिल्दैन।’

उनले सरकारमा वैचारिक, सैद्धान्तिक हिसाबले भिन्न दलको प्रतिनिधित्व भए पनि राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाहको मुद्दामा एक ठाउँमा उभिएर काम गर्ने नौलो अभ्यास गरिरहेको बताए। 

उपप्रधानमन्त्री लिङ्देनले भने, ‘विकासलाई तीव्रता, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाएर मुलुकलाई अप्ठ्यारोबाट सहज बनाउन प्रयत्नरत छौँ।’

उनले नेपालका ठूला विद्युत् परियोजना नेपालीकै पैसा लगानी गरेर सञ्चालनमा ल्याउने वातावरण सिर्जना गर्दै गरेका कामबारे केही दिनभित्रमा सार्वजनिक गर्ने बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस