सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहको बिदाइ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहको बिदाइ


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहलाई शुक्रबार बिदाइ गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच प्रहरी सेवाबाट सेवानिवृत्त भएकी सिंहलाई बिदाइ गरिएको हो । 

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागरिक र सङ्गठनलाई गरेको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यावसायिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना व्यक्त  गरेका छन् । विभिन्न कालखण्डमा सफल महिला कमाण्डरको रूपमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवानिवृत्त जीवन पश्चातपनि रचनात्मक सहयोगको अपेक्षा राखेको र आगामी दिनमा सङ्गठनको श्रीवृद्धिका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे 

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त भएकी प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई मायाको चिनो प्रदान गरे । 

कार्यक्रममा सेवानिवृत्त भएकी प्रहरी अतिरिक्त महानिरीक्षक सिंहले आफ्नो सेवा अवधिमा गरेका अनुभव समेटी आफ्नो मन्तव्य व्यक्त गरेकी छन् । उनले सेवा निवृत्त हुने क्रममा एक पटकको प्रहरी सधैँ प्रहरी रहने भएकोले वर्दीयुक्त जीवनबाट मात्र अवकाश हुन लागेको बताइन् । प्रहरी सेवामा रहने क्रममा सङ्गठनका सदस्यबाट प्राप्त सद्भाव प्रति सधैँ ऋणी रहने बताउँदै उनले यो अवस्थासम्म आइपुग्ने क्रममा नेतृत्व विकासमा मार्ग दर्शन गर्ने अग्रज प्रहरीप्रति सम्मान व्यक्त गर्दै उनले भनिन्, “नेपाल प्रहरीको प्रशासनतर्फको पहिलो महिला प्रहरी अतिरिक्त महानिरीक्षक हुने क्रममा तालुक गृह मन्त्रालय र प्रहरी महानिरीक्षकको भूमिकाप्रति आभार एवम् कृतज्ञता व्यक्त गर्न चाहन्छु ।”  

सो अवसरमा उनले करिब ३० वर्ष लामो सेवा अवधिमा सङ्गठनमा रहने क्रममा सहकर्मी एवम् मातहत प्रहरी कर्मचारीबाट प्राप्त निरन्तर साथ र सहयोगका लागि हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गरिन् ।  

सेवानिवृत्त भएकी प्रहरी अतिरिक्त महानिरीक्षक सिंह वि.सं. २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । प्रहरी अतिरिक्त महानिरीक्षक प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण फागुन ७ गते अवकाश हुन लागेकी हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस