फुल्चोकी-कुशादेवीमा प्याराग्लाइडिङको परीक्षण उडान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फुल्चोकी-कुशादेवीमा प्याराग्लाइडिङको परीक्षण उडान


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । पनौती नगरपालिकामा रहेको फुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको सुरुआत गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गएको पुस अन्तिम हप्ता प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन) को अनुमति दिएको थियो ।

त्यस ठाउँमा प्याराग्लाइडिङ सञ्चालनार्थ प्राधिकरणले गएको माघबाट सञ्चालन गर्न पाउने गरी अनुमति प्रदान गरेको हो । प्राधिकरणबाट सञ्चालन निर्देशन भएपछि व्यावसायिक उडानको तयारीस्वरुप सोमवार हिजोदेखि परीक्षण उडान सुरु गरिएको प्रालिका अध्यक्ष छविलाल हुमागाईँले बताए ।

‘व्यावसायिक उडानका लागि परीक्षण उडान थालेका हौँ, तीन दिनको परीक्षण उडानपछि व्यावसायिक उडान गर्नेछौँ’, उनले भने । सम्पूर्ण तयारीपछि उडान थालिएको जनाइएको छ । अध्यक्ष हुमागाईँका अनुसार अहिले उडानका लागि तीन प्याराग्लाइडिङबाट ‘डेमोस्ट्रेशन’ उडान भएको हो ।

परीक्षण उडानपछि क्रमशः १० वटाले प्याराग्लाइडिङबाट उडान सञ्चालनमा ल्याइने जनाइएको छ । ‘डेमोस्ट्रेशन’ उडानपछि ‘टेकअप’ र ‘ल्याण्डिङ’का स्थान यकिन गरी दुवै क्षेत्रको दिगो व्यवस्थापनमा लाग्ने उनले बताए । कुशादेवी क्षेत्र तीन वर्षअघि विहार क्षेत्र पर्यटन महोत्सवका क्रममा फुल्चोकीको गुर्दूमडाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो ।

त्यसबेला १५ प्याराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने त्यसपछि अन्य दुई समयमा पनि व्यावसायिक उडानका लागि परीक्षण भइसकेका थिए । त्यस ठाउँबाट उडान भर्ने ठाउँ, ल्याण्डिङ, हावाको चाप तथा अन्य वातावरण अनुकूल भएकाले अहिले अनुमति पाएको जनाइएको छ ।

यस्तै प्रालिले दैनिक १० प्याराग्लाइडिङले बिहान १० देखि दिउँसो ४ बजेसम्म उडान अनुमति पाएको हो । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबिलिटी’ रहने जनाइएको छ । प्याराग्लाइडिङ गुर्दूमडाँडाबाट उडान सुरुगरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ ।

गुर्दूमडाँडाबाट बन्चरेटार सडकको दूरीका हिसाबले चार किलोमिटर हो । तर प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने ठाउँ समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्याण्डिङ हुने ठाउँ बन्चरेटार एक हजार तीन सय मिटरमा छ ।

प्याराग्लाइडिङ उडानका लागि स्थानीय पाँच युवालाई त्यही विषयको अध्ययन गराइएको थियो । ’प्याराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै यस क्षेत्रको पर्यटन प्रचारात्मक हुने अपेक्षा गरेका छौँ’, पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले भने । उनका अनुसार प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी विहार क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्नेछ ।

पनौती नगरले पनि चालु आर्थिक वर्षमा साहसिक खेल–पर्यटनलाई प्राथमिकतामा राखेको छ । साथै यस वर्ष हाइकिङ ट्रेलको विकास, विस्तार तथा प्रचार गर्न नगरले आफ्नो नीति तथा कार्यक्रममासमेत उल्लेख गरेको छ । यस्तै साहसिक खेलजन्य गतिविधिको प्रवर्द्धनार्थ प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, साइक्लिङजस्ता इभेन्ट सञ्चालन गरिने योजनामा राखिएको हो ।

नगरले यसअघि गएको वर्ष चैतमा पर्यटन प्रवर्द्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङको सुरुआत गरेको थियो । साहसिक खेल नगरको १ नं वडामा रहेको सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नं वडाको नागीडाँडासम्म छ किलोमिटर साइक्लिङ ट्रेल रुट तय गरिएको छ । नगरको ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा त्यतिबेला नेपाल, क्यानडा र भारतका करिब दुई सय राइडरले साइक्लिङ गरेका थिए ।

यसैगरी नेपाल पर्यटन बोर्डका अनुसार पनौती-नमोबुद्ध हाइक, बल्थली इको-ट्रेल (लो-ल्याण्ड ट्रेक), साँगा-पनौती हाइक (कम्युनिटी हाइक), गुर्दूम-महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृश्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा-मेला अवलोकन भ्रमण गर्न सकिने छ ।

गएको वर्ष असोजमा बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवर्द्धनार्थ घुम्ने ठाउँ र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको थियो । यसका लागि बोर्डले पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै प्रचार सामग्रीसमेत सार्वजनिक गरेको छ । यस्तै साहसिक खेल पर्यटनका लागि पनौती उपयुक्त ठाउँ रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक क्लाइमिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस