महासङ्घका पूर्व अध्यक्षहरू लामिछानेको ‘अराजक’ अभिव्यक्तिको विरोधमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

महासङ्घका पूर्व अध्यक्षहरू लामिछानेको ‘अराजक’ अभिव्यक्तिको विरोधमा


२८ माघ २०७९, शनिबार


काठमाडौँ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारमाध्यममाथि लगाएको आरोपको विरोध गरेका छन् ।

लामिछानेको अभिव्यक्तिका विषयमा महासङ्घले शनिबार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा उनीहरूले लामिछानेले सञ्चारमाध्यममाथि गरेको टिप्पणी सामान्य नभएको भन्दै विरोध गरेका हुन् ।

कार्यक्रममा महासङ्घका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले लामिछानेले अराजक अभिव्यक्ति दिएको भन्दै उनको शैली धम्कीका विषय स्वीकार्य हुन नसक्ने बताए । उनले राज्यले लामिछानेको अभिव्यक्तिलाई नोट गर्नुपर्ने र हिंसा भड्काउने अभिव्यक्तिलाई रोक्नुपर्ने धारणा राखे ।

त्यस्तै, महासङ्घका पूर्व अध्यक्ष शिव गाउँलेले नेपाली प्रेस जगतमाथि लगाइएको लाञ्छनाप्रति क्षमा याचना गर्नुपर्ने बताए । उनले कसैले धम्की दिँदैमा नेपाली प्रेस जगत नहल्लने जिकिर गरे ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले लामिछानेको अभिव्यक्ति सामान्य नभएको र प्रेस जगतका लागि थ्रेट भएको बताए । यस्ता विषयमा चुप लागेर बसे आगामी दिनमा प्रेस जगतमाथिको आक्रमण बढ्दै जाने उनले बताए ।

कार्यक्रममा महासङ्घका महासचिव रोशन पुरीले प्रेस क्षेत्रमाथिको हमला कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै पत्रकारका सबै सङ्घ सङ्गठनहरूले प्रतिवादको पहल गर्नुपर्ने धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस