प्रदेशको नामकरण नहुँदा लज्जा बोध भएको छ : मुख्यमन्त्री कार्की « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रदेशको नामकरण नहुँदा लज्जा बोध भएको छ : मुख्यमन्त्री कार्की


२८ माघ २०७९, शनिबार


मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९ औँ जिल्ला सभा अधिवेशनमा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई जनतामुखी बनाउन आफू लागिपरेको बताए ।

उनले भने, “मैले कार्यभार सम्हालेपछि पहिलो बैठकमै नौ वटाभन्दा बढी मन्त्रालय नबनाउने निर्णय गरेको छु ।” प्रदेश सरकार सञ्चालनका लागि सातभन्दा बढी मन्त्रालय आवश्यक नभएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

प्रदेश सरकारप्रति सकारात्मक आलोचनाको समेत गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरे । प्रदेश सरकारको संरचना बनाउने कामसमेत बाँकी रहेकाले संरचना बनाउने काम अघि बढाइएको उनले बताए । मुख्यमन्त्री कार्कीले छिट्टै प्रदेशको नामकरण गरिने बताए ।

“पाँच वर्षसम्म प्रदेशको न्वारन हुन सकेन”, उनले भने, “प्रदेशको नामकरण हुन नसक्दा मलाई लज्जा बोध भइरहेको छ ।” प्रदेशको नामकरणका लागि सबैको सुझाव, सल्लाह आवश्यक रहेकोसमेत उनले बताए ।

कार्यक्रममा रेवती रमण नेपाल स्वयम् सेवा सम्मानबाट तीन जनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा नारायण ढुङ्गाना, दिव्य प्रसाद भुर्तेल र तुलसी काफ्ले रहेका छन् ।

नगद ११ हजार, सम्मान पत्र र दोसल्ला ओढाएर मुख्यमन्त्री कार्की, पुरस्कारका संरक्षक वेदकुमारी नेपाल र रेडक्रस झापाका सभापति लोकराज ढकालले उनीहरूलाई सम्मानित गरे ।

यस्तै जिल्लामा धेरै रक्तदान गर्ने वीरता लेडी जेसिज, तेरा पन्थ युवा परिषद् र विराट अर्जुन उपभोक्ता सहकारीलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस