काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताएका छन्। उनले माओवादीको भविष्य उज्ज्वल भएको दाबी गरे।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘ निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ। यो हाम्रा लागि चुनौतीपूर्ण छ। यसको भरपुर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैपर्दछ। एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चीज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ। पार्टीका पनि सबै नेता–कार्यकर्ताले जनताको हितअनुसार काम गरेर देशलाई परिणाम दिनै पर्छ।’
सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता भएको उल्लेख गर्दै उनले उक्त लक्ष्य हासिल गर्न सिङ्गो देशलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘स्थायी समिति बैठकले सरकारलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट भूमिका खेल्ने निर्णय गरेको छ। पार्टीको दुई महिने सङ्गठनात्मक अभियान चलाउँदैछौं।’
पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेको उल्लेख गर्दै उनले सम्भव हुने पार्टीसँग तत्काल एकता गर्ने तथा तत्काल एकता सम्भव नहुने पार्टीसँग समाजवादी मोर्चा बनाएर एकताको आधार तयार पार्ने बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले पनि अप्ठ्यारा छन्, चुनौती छन्। ती सबैलाई हामी छिचोल्छौँ र अगाडि बढ्छौँ। अर्को निर्वाचनसम्म जाँदा हाम्रो पार्टी फेरि शक्तिशाली भएर आउँछ। देशको वैकल्पिक शक्ति हामी नै हौँ भन्ने तथ्य परिणामबाट स्थापित हुन्छ। त्यसरी हेर्दा मैले माओवादी पार्टीको भविष्य उज्ज्वल नै देखिरहेको छु, हामी फेरि उचाइका साथ अघि बढ्छौँ।’