तमान गाउँमा जलायशयुक्त हाइड्रोपावरको योजना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तमान गाउँमा जलायशयुक्त हाइड्रोपावरको योजना


२८ माघ २०७९, शनिबार


ढोरपाटन । धौलागिरि हिमालको काख । बाक्लो बस्ती, प्राकृतिक सुन्दरता । केही भिरालो, केही समथर भू-भाग । बागलुङ सदरमुकामबाट सबैभन्दा टाढा छ, तमान गाउँ । तमानखोला गाउँपालिका-३ मा पर्ने यो गाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । चिटिक्क मिलेर बनेका तमान गाउँका घरले धेरैलाई आकर्षित गरिरहेको छ । वर्षौँदेखि पर्यटक पर्खी रहेको तमान गाउँ विकटमा हुँदा आगन्तुक भित्र्याउन सकेको छैन ।

गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिएको छ । गाउँपालिकाले तमान गाउँलाई ‘पर्यटकीय हब’का रूपमा विकास गर्न ‘मिनी’ जलाशययुक्त बहुउद्देश्यीय हाइड्रोपावर निर्माण गर्ने भएको छ । यही गाउँ हुँदै बग्ने तमानखोलालाई थुनेर गाउँपालिकाले हाइड्रोपावर निर्माण गर्न दुई वर्षदेखि अध्ययन गरेको छ ।

गाउँपालिकाको गौरवको यो परियोजना सरकारी तथा निजी क्षेत्रको सहकार्यमा हुने छ । तमानखोला थुनेर हाइड्रोपावर मात्रै बन्ने छैन । यहाँ ‘फिस फार्म’, ‘¥याफ्टिङ’ लगायत पर्यटक आकर्षित गर्ने अन्य संरचना बन्ने छन् । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर तमान गाउँलाई ‘पर्यटकीय गाउँ’ बनाउन र यहाँका नागरिकको जीवनस्तर उकास्न यो योजना सुरु गर्न लागेको बताउँछन् ।’हाइड्रोपावरसँगै यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिने छ, यसका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदैछ, योजनाको निर्माण सुरु भएको तीन वर्षमा सक्ने गरी काम हुने छ, परियोजना सरकार, निजी क्षेत्र र स्थानीय नागरिकको लगानीमा निर्माण हुनेछ’, उनी भन्छन् ।

तमान गाउँ राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकसँग नजिक पर्छ । सरकारको रणनीतिक सडकअन्तर्गत प्युठानको स्वर्गद्वारी, बागलुङको ढोरपाटन, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथसँग जोडिने सडकको केन्द्रमा यो गाउँ पर्छ । यो सडकलाई ‘धार्मिक पर्यटक सडक’को नामकरण गरेको र यहाँ धार्मिक पर्यटक बढी भित्र्याउने लक्ष्य लिइएको छ । उनी भन्छन्, ‘यो गाउँ निकै केन्द्रमा पर्छ, अहिले आन्तरिक पर्यटक त आउँछन् तर एक/दुई दिन राख्न सकिएको छैन, पर्यटक घुम्न बाँध बाँधेर ताल बन्छ, डुङ्गा सञ्चालन हुन्छ, फिस फार्म चल्छ, वरपर रेष्टुराँ र आकर्षक पर्यटकीय संरचना निर्माण हुने छ ।’

गाउँपालिकाले पहिलो चरणको अध्ययन सकेर दोस्रो चरण सुरु गरेको छ । अहिले एक्जिनियस इन्जिनियरिङ कन्सल्टेन्सी कोटेश्वरले दोस्रो चरणको अध्ययन गरिरहेको छ । खोला थुनेर जलाशययुक्त हाइड्रोपावर बनाउन रु ४० करोड र पर्यटकीय संरचनासहितको काम गर्न करिब रु ६० करोड लाग्ने एक्जिनियस इन्जिनियरिङ कन्सलटेन्सीका इन्जिनियर नवीन घर्ती मगरले जानकारी दिए । इन्जिनियर घर्ती मगर भन्छन्, ‘यो ठाउँ बाध बाँधेर हाइड्रो निर्माण गर्नका लागि उपयुक्त देखिएको छ, यहाँको भूगोलको अवस्था, बाध र पर्यटकीय संरचना कहाँ निर्माण गर्नेलगायतका विषयमा अध्ययन गरिरहेका छौँ ।’

यहाँबाट तीन सय ५० किलोवाटको विद्युत् उत्पादन हुने आँकलन गरिएको छ । यसलाई उत्तरगङ्गा हाइड्रोपावरको ‘नमूना हाइड्रो’को रूपमा लिइएको छ । गाउँपालिकाले रु १५ लाख खर्च गरेर पहिलो चरणको अध्ययन गरिरहेको छ । गाउँपालिकाकी उपाध्यक्ष हीराकुमारी छन्त्यालले जलाशययुक्त हाइड्रोपावर निर्माणपछि सिङ्गो तमानखोलाले मुहार फेर्ने भन्दै यहाँका नागरिको जीवनस्तर बदलिने बताउछिन् । परम्परागत खेतीपाती र पशुपालनमा हुँदै आएको यहाँ हाइड्रोपावरले रोजगार सिर्जना गर्नुका साथै गाउँलेलाई व्यवसायसँग जोड्ने उपाध्यक्ष छन्त्याल बताउँछन् । उनी भन्छन्, ‘भौगोलिक हिसाबले पछि पर्दा यहाँका नागरिक पछाडि परेका छन्, अब विस्तारै सडक पनि राम्रो हुँदैछ, दैनिकीमा केही परिवर्तन आउँदै छ, यो परियोजना सम्पन्नपछि धेरैको जीवनस्तर बदलिने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस